उर्लाबारी घटना | एक जनालाई थुनामा राख्न आदेश, ‘फोटो फेरिएको देखिएन : एसपी खड्का
अखबार टुडे
प्रकाशित:
२०७७, १३ फाल्गुन

काठमाडौं, १३ फागुन । मोरङको उर्लाबारी नगरपालिका–५ का प्रवीण बाँस्तोलाको हत्या आरोपमा उपस्थित गराइएका दुई जनामध्ये एकजनालाई अदालतले थुनामा पठाएको छ ।
बिहिबार थुनछेक बहसपछि रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई जिल्ला अदालत मोरङले थुनामा पठाउने आदेश दिएको हो । जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले अर्का आरोपी कुमार राईलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । कुमार स्थानीय सौरभी होटलका सञ्चालक हुन् ।
ईलाका प्रहरी कार्यालय उर्लाबारीले प्रवीणको हत्या आरोपमा स्थानीय सौरभी होटल सञ्चालक कुमार राई र रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई पक्रेर अदालतमा उपस्थित गराएको थियो । सौरभी होटलका सञ्चालक कुमार उर्लाबारी–७ का स्थानीय हुन् ।
गत पुस ४ मा साथीहरुसँग मदिरा सेवन गरेका प्रवीण बिहान अचेत अवस्थामा भेटिएका थिए । उर्लाबारी–७ का रमेश गिरीको घरमा साथीको डेरामा अचेत अवस्था भएपछि उनलाई स्थानिय गोदावरी अस्पालमा पुर्याइयो । पुस ५ मा बिहान डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
घटनामा संलग्न ६ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो । तर, जिल्ला सरकारी वकिल कार्यालयको निर्देशनमा उनीहरु छुटे । मृतकका आफन्तले आरोपीलाई छाडेको विरोधमा आन्दोलन गरेपछि सरकारी वकिल कार्यालय मोरङले मंगलबार अदालतमा मुद्दा दर्ता गरेको थियो ।
घटनामा संलग्न अन्य चारजनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर उद्धव पोखरेलले बताएका छन् । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रविणको ‘निसास्सिएर मृत्यु’ भएको पोष्टमार्टम रिपोर्ट दिएको छ । भिसेरा परीक्षणबाट विष खुवाएको अथवा खाएको पुष्टि नभएको बताइएको छ ।
मृत्यु भएको दिन प्रविण आफ्ना साथी सुदिप परियार, मेहरमान दर्जी र दिलिप पौडेलको डेरामा सुतेका थिए । पुस ४ मा राती उनीहरुसँग ३१ वर्षीय राजेश रणपहेली पनि सँगै थिए । उनीहरु एउटै कोठामा सुतेका र प्रविन अचेत भएपछि एम्बुलेन्समा अस्पताल लगेको बताइएको छ । जिल्ला सरकारी वकिल कार्यालय मोरङका प्रमुख मनोजककुमार आचार्यले घटनामा संलग्न ६ जना विरुद्ध मुद्दा दर्ता गरेको बताए ।
यसैबीच पीडित परिवारले इलाका प्रहरीका कार्यालय उर्लाबारीका इन्सपेक्टर उद्धव पोखरेलले मृतकको फोटो परिवर्तन गरेको आरोप लगाएका छन् । तर, प्रारम्भिक छानबिनबाट फोटो फेरेको नदेखिएको मोरङका एसपी सन्तोष खड्काले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राई सहितका ३ जनाको छानविन समितिले सो घटना अनुसन्धान गर्नेहरूमाथि छानविन गरिरहेको छ ।
‘प्रारम्भिक छानबिनबाट फोटो परिवर्तन गरेको देखिएन’ एसपी खड्काले रातोपाटीसँग भने– ‘अनुसन्धानमा ढिलाई किन भयो भनेर समितिले छानविन गरिरहेको छ ।’ रातोपाटीबाट

प्रतिक्रिया