दम्भ किन गर्नु, जिन्दगी नै अनिश्चित छ : प्रधानमन्त्री
अखबार टुडे
प्रकाशित:
२०७७, १२ फाल्गुन

काठमाडौं, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थितमा पनि आफूहरु दृढताका साथ समृद्धिको यात्रामा अघि बढिरहने बताएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बुधबार आयोजना गरेको ‘नेपालको डिजिटल माटो नक्सांकन’ उद्घाटन कार्यक्रममा बोल्दै उनले आफूले लिएको जिम्मेवारी पूरा गर्न जहाँ रहे पनि लागिरहने बताएका हुन् ।
सर्वाेच्च अदालतले मङ्लबार गरेको फैसलाका कारण हतास हुनुपर्ने कारण नभएको जनाउँदै प्रधानमन्त्री आलीले जिन्दगी नै अनिश्चित भएकाले आफूमा कुनै दम्भ र भ्रम नरहेको बताए । उनले भने, ‘को मान्छे कति बेला मर्छ थाहा छैन तर जबसम्म बाँचिन्छ राम्रो काम गर्नुपर्छ ।’
आफूले सरकारको नेतृत्व गरेको तीन वर्षमा पूर्वाधार र आर्थिक विकासका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको प्रधानमन्त्री ओलीले बताउँदै उनले कतिपय व्यक्ति सुरुङ र पानीजहाजका कुरा गर्दा पहिले हाँसे पनि अहिले नेपालमा कतै सुरुङ बन्न शुरु भइसकेको र कतै प्रक्रियामा रहेको जनाए ।
उनले पूर्व–पश्चिम जोड्ने चारवटा राजमार्ग तीव्रताका साथ निर्माण भइरहेको बताउँदै भने, ‘हामीले पूर्वपश्चिम नै जोड्ने रेलमार्ग निर्माण अघि बढाइरहेका छौँ ।’
आगामी आर्थिक वर्षमा दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको प्रधानमन्त्री ओलीले बताए ।
सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने र सन् २०२२ सम्ममा देशलाई विकासोन्मुख मुलुकमा रुपान्तरण गर्ने लक्ष्य लिइएको उनले उल्लेख गरे । विभिन्न कृषिजन्य उत्पादनको उत्पादकत्व बढिरहेको बताउँदै उनले भने, ‘माछा, मासु, तरकारी र दूधको उत्पादन बढिरहेको छ ।’
नेपाल खाद्यबालीमा आत्मनिर्भर भए पनि सौखिन खानाका कारण आयात भइरहेको उनले बताए । ताजा चामल खान छाडेर मेसिनले बनाएको लामो सिता चामल खाने बानीका कारणले विदेशबाट चामल आयात गर्नुपरेको प्रधानमन्त्रीले उल्लेख गरे ।

प्रतिक्रिया