प्रतिनिधिसभा बैठक अगाडि प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : वामदेव गौतम
अखबार टुडे
प्रकाशित:
२०७७, १२ फाल्गुन

काठमाडौं, १२ फागुन । नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।
नेता गौतमले प्रतिनिधिसभा बैठक अगाडि नै ओलीले राजीनामा दिएर अर्को प्रधानमन्त्री चुन्न सहयोग गर्नुपर्ने बताएका छन् । उनले इकान्तिपुरलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।
नेता गौतमले भनेका छन्, ‘अब पार्टी एकता गर्ने र पार्टी एकताको आधारमा नेकपाकै प्रधानमन्त्री बनाउने हो । केपी ओली अब प्रधानमन्त्री बन्न सक्नु हुन्न । उहाँले नैतिकताको आधारमा संसद् बैठक अगाडि नै राजीनामा दिनु पर्छ ।’ उनले प्रतिनिधिसभा पुर्नस्थापना भएपछि बैठकमा गएर ओलीले सम्बोधन गर्नुपर्ने बताए । सर्वोच्च अदालतले संविधानको मर्म र भावना बमोजिम फैसला गरेर संविधानलाई जोगाएको उनको भनाइ छ ।
नेता गौतमले भने, ‘सर्वोच्च अदालतको फैसला नेपालको संविधानको मर्म र भावना बमोजिम छ । मैले केपीको कदमलाई असंवैधानिक र प्रतिगामी भनेको थिए । मेरो भनाई, संविधानको भावना अनुरुप सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला गरेको छ ।’

प्रतिक्रिया