‘प्रतिनिधिसभा पुर्नस्थापना हुन्छ भन्ने पूर्ण विश्वास छ’
अखबार टुडे
प्रकाशित:
२०७७, ११ फाल्गुन

काठमाडौं, १२ फागुन । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै सर्वोच्च अदालतबाट संविधानको मर्म र भावनानुसार फैसला आउने विश्वास व्यक्त गरेका छन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)ले मंगलबार पेरिसडाँडामा आयोजना गरेको ‘२०औँ मजदूर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रम’लाई सम्बोधन गर्दै उनले जनयुद्ध र जनआन्दोलनका बलमा संविधानसभाबाट घोषणा भएको संविधानअनुसार गठन भएको सर्वोच्च अदालतलबाट प्रतिनिधिसभा पुनःस्थापना हुने जिकिर गरे ।
सरकारको सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि उक्त विषय सर्वोच्च अदालतबाट निरुपण हुने क्रममा रहेको छ । प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा बहस सकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको छ ।
केहीदिनभित्रै फैसला आउने अपेक्षा गरिएको छ । “नयाँ संविधानअनुसार बनेका निकायले संविधानको मर्म र भावनाअनुसार काम गर्नेछन्’, उनले भने, ‘प्रतिनिधिसभा पुर्नस्थापना हुन्छ भन्ने पूरा विश्वास छ ।’
संविधान गतिशील र जीवित दस्तावेज भएको उल्लेख गर्दै उनले जनताको पक्षमा जहिले पनि संविधान संशोधन गर्न सकिने बताए । दोस्रो पटक आफू प्रधानमन्त्री हुँदा जनतालाई अधिकार दिनुपर्छ भनेर संविधान संशोधन गर्न प्रस्ताव लगेको स्मरण गर्दै उनले राष्ट्रिय आवश्यकतानुसार संविधान संशोधन गर्न सकिने प्रष्ट पारे ।
नेकपा मजदूर फ््रयाक्सन इञ्चार्ज जयपुरी घर्तीले मुलुकको परिवर्तनमा श्रमिक वर्गको भूमिका महत्वपूर्ण रहे पनि त्यसपछि बनेका सरकारले मजदूरका अधिकार सम्बोधन गर्न नसकेको गुनासो गरे । ‘जनयुद्ध, जनआन्दोलनमा मजदूरको भूमिका अतुलनीय रह्यो तर आज तिनै मजदूर विनापारिश्रमिक कामबाट निष्काशित हुनु परेको छ’, उनले भने । कार्यक्रममा शहीद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया