प्रतिनिधिसभा पुर्नस्थापना भए तमासा सुरु हुन्छ : प्रधानमन्त्री
अखबार टुडे
प्रकाशित:
२०७७, १० फाल्गुन

काठमाडौं, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना भएमा सत्ता समीकरणको खेल, भागवण्डा र तमासाको राजनीति शुरु हुने बताएका छन् ।
बेदकोट नगरपालिका–२ स्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उनले आफू देश बनाउने अभियानमा निरन्तर लागिरहने बताए । मुलुक निर्वाचनमा गएपछि केही व्यक्तिमा राजनीति सिद्धिने छटपटी भएको उनको भनाइ थियो ।
‘देश बनाउन लोकतान्त्रिक आन्दोलन चलिरहन्छ’, उनले भने, ‘समग्र राष्ट्र परिवर्तनको आन्दोलन भएकाले सफलताका साथ अगाडि बढ्छ ।’ आफूले अदालतलाई धम्की नदिएको स्पष्ट गर्दै उहाँले न्यायालय र शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास रहेको उल्लेख गरे ।
अहिलेको आवश्यकता शिक्षा, स्वास्थ्य, आवास भएको उल्लेख गर्दै उनले शहरका बालबालिकाले झै गाउँका बालबालिकाले गाउँमै कम्प्युटर र इन्टरनेटको प्रयोग गरेर शिक्षा आर्जन गर्ने बताए । पश्चिम सेती राष्ट्रकै गौरवको योजना भएकाले प्रयाप्त विद्युत् उत्पादन गरी सुदूरपश्चिमको उद्योगमा विद्युत् आपूर्तिमा सहज हुने उनले जनाए ।
उनले भागरथी भट्ट हत्याकाण्डमा केही तत्वले राजनीति गर्न खोजे पनि सफल नभएको बताए । प्रधानमन्त्री ओलीले भने, ‘अपराधीलाई प्रहरीले अनुसन्धानपछि पक्राउ गरेको छ । म कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई पनि अनुसन्धान गरी सार्वजनिक गर्न प्रशासनलाई निर्देशन दिन्छु ।’ उनले जनतालाई समस्यामुक्त गर्न सके मात्र देशको विकास निर्माणको काम अगाडि बढ्ने बताए ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले लडाकू व्यवस्थापनका क्रममा क्यान्टोनमेन्टमा ठूलो भ्रष्टाचार गरिएको उल्लेख गर्दै तत्कालीन पार्टीमा अमिक शेरचनको नेतृत्वमा बुझाइएको प्रतिवेदन दबाइएको बताए ।
लडाकूका बीचमा त्यो प्रतिवेदन नजाओस् भनेर च्यातिएको उहाँले जानकारी दिए । उनले औद्यागिक क्षेत्र बनाउने प्रक्रिया सुदूरपश्चिमबाट गरिएको उल्लेख पनि जानकारी दिए ।
वन तथा वातावरणमन्त्री प्रेम आलेले महाकाली करिडोरको कार्य अगाडि बढाउन सरकारले रु ९३ करोड रकम विनियोजन गरेको बताउनुभयो । वनका कारण अड्किएको करिडोरको कार्य पूरा गर्नका लागि मन्त्रिपरिषद्को बैठकमा लगेर निर्णय गरी समाधान गरिने उहाँले जानकारी गराए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापितको वर्षौदेखिको समस्या समाधान गर्नका लागि शक्तिशाली आयोग गठन गरिने उनले बताए ।
श्रम तथा रोजगारमन्त्री गौरीशंकर चौधरीले विकासको ढोका पश्मिबाट खुलेको चर्चा गर्नु हँुदै औद्योगिक क्षेत्र स्थापनापछि यसले आर्थिक समृद्धिमा टेवा पु¥याउने बताए ।

प्रतिक्रिया