मेघनका कारण बेलायती राजकुमार ह्यारी मान पदवीमुक्त
अखबार टुडे
प्रकाशित:
२०७७, ७ फाल्गुन

लण्डन, ७ फागुन (एजेन्सी । बेलायतका राजकुमार ह्यारी मान पदविमुक्त भएका छन् । दोस्रो सन्तानलाई जन्मदिने तयारीमा रहेकी उनकी श्रीमती मेघन मर्केलले राजदरबार फर्किन अस्विकार गरेपछि ह्यारी र मेघनको पदवी गुमेको हो ।
केही महिना अगाडि उनीहरुले नै मान पदवी त्यागेको घोषणा गर्दै अमेरिका बसाइ सरेपनि दरबारको तर्फबाट अहिलेसम्म कायमै राखिएको थियो । तर शुक्रबार महारानी एलिजावेथ द्वितीयले उनीहरुको मान पदवी खारेज भएको घोषणा गर्नु भएको समाचारमा जनाइएको छ ।
बेलायती राजदरबार बकिङ्घम दरबारले अहिलेसम्म विचाराधीन अवस्थामै राखेको उनीहरुको मान पदवी खारेज भएको घोषणा गरेपछि यसलाई बेलायती राजसंस्थाको इतिहासमा अविस्मरणीय घटनाको रूपमा लिइएको छ ।
महारानी एलिजावेथ द्वितीयले ह्यारी दम्पत्तिसँग बेलायती राजपरिवारको अव राजनीतिक तथा सार्वजनिक सम्वन्ध नरहेको उल्लेख गरेको अधिकारीहरूले जनाएका छन् । राजपरिवारको सदस्यका रूपमा उनीहरूको अव कुनै जिम्मेवारी, दायित्व र अधिकार तथा भूमिका पनि नहुने दरबारले जनाएको छ ।
गत वर्ष मार्चमा ह्यारी र मेघनले सामाजिक सञ्जालहरूमा पनि आफ्नो अन्तिम पोस्ट गर्दै बेलायती राज परिवारको वरिष्ठ सदस्यका रूपमा आफ्नो भूमिका छोड्ने घोषणा गरेका थिए । उनीहरू अहिले सामाजिक सञ्जालहरुबाट पनि टाढा रहेका छन् ।
सामाजिक सञ्जालमा धेरै घृणा सहनु परेको कारण ह्यारी र मेघनले ट्विटर, इन्स्टाग्राम, फेसबुकलगायतका सामाजिक सञ्जालमा आफूहरू प्रस्तुत नहुने निर्णय गरेको टाइम्स अफ लन्डनले लेखेको थियो । दुवै जनाले सामाजिक सञ्जालमा चाँडै फर्किहाल्ने संकेत देखिएको छैन ।
हलिउड अभिनेत्री मेघनसँगको प्रेम सम्वन्धलाई ह्यारीले बैवाहिक जीवनमा परिणत गरेका हो । उनीहरुका अहिले एक छोरा छन् भने अर्को जन्माउने निश्चित भइसकेको जनाइएको छ ।

प्रतिक्रिया