अवहेलना मुद्दामा लिखित जवाफ लिएर आफैँ सर्वोच्च पुगे प्रधानमन्त्री
अखबार टुडे
प्रकाशित:
२०७७, ६ फाल्गुन


काठमाडौं, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार सर्वोच्च अदालतमा उपस्थित भएका छन् । अदालतको अवहेलना मुद्दामा सर्वोच्चको आदेशअनुसार उनी आफैँ लिखित जवाफ बोकेर सर्वोच्च अदालत गएका हुन् ।
माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको इजलासले ओलीलाई रिट निवेदकको माग बमोजिम अवहेलनामा कारबाही किन हुनु नपर्ने हो भन्नेबारे लिखित जवाफ पेश गर्न सर्वोच्चले आदेश दिएको थियो । प्रधानमन्त्रीका अभिव्यक्तिले न्यायपालिका र न्यायप्रक्रियाकै उपहास भएको भन्दै वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य र कञ्चनकृष्ण न्यौपानेले अवहेलना मुद्दा दायर गरेका थिए ।
गत ५ पुसमा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटमाथि सुनुवाइ जारी रहँदा प्रधानमन्त्री ओलीले संविधानमा पुर्नस्थापनाको व्यवस्था नै नभएको उल्लेख गर्दै संवैधानिक इजलासमा हुँदै आएको बहसलाई ‘तमासा’ भनेका थिए । रिट निवेदकको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले ‘एकजना बाजे वकिललाई पनि लिएर गएछन् तमासा देखाउन’ भनेर अपमानजनक अभिव्यक्ति दिएका थिए ।
आफूमाथि लागेको अवहेलना मुद्दामा लिखित जवाफ पेश गरेपछि न्यायपरिषद सचिवालयको निर्माणाधीन भवनको निरीक्षण गरेर प्रधानमन्त्री ओली बालुवाटार फर्किएका छन् ।

प्रतिक्रिया