यस्तो छ प्रधानमन्त्रीको अत्याधुनिक कार्यालय (फोटोफिचर)
अखबार टुडे
प्रकाशित:
२०७७, ५ फाल्गुन


काठमाडौं, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली झण्डै ११ महिनापछि औपचारिकरुपमा आफ्नो कार्यालय छिरे । उनी गत वर्षको चैत दोस्रो साताबाट सिंहदरबारस्थित आफ्नो कार्यालयमा छिरेका थिएनन् । प्रधानमन्त्री ओलीले २०७६ फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि सिंहदरबारस्थित आफ्नो कार्यालय बिरानो भएको थियो । त्यसपछि उनी जम्मा तीन पटकमात्र सिंहदरबारस्थित आफ्नो कार्यालय गएका थिए ।


त्यसैबेला कोरोना संक्रमणको महामारीका कारण चैत ११ गते लकडाउन घोषणा गरिएपछि प्रधानमन्त्री ओलीले बालुवाटारस्थित आफ्नो निवासबाट कामकाज चलाउँदै आएका थिए । प्रधानमन्त्री ओलीले सोमबार सिंहदबारस्थित आफ्नो नयाँ कार्यलय उद्घाटन गरेका छन् ।
कार्यालय उद्घाटन गरेपछि प्रधानमन्त्री ओलीले आफ्नो तीन वर्षको प्रगति विवरण सुनाउँदै भने, ‘सरकारले गरेको राम्रो काम मिडियाले देख्दैन ।’ उनले अहिलेसम्मकै सरकारले नगरेको विकास आफ्नो सरकारले गरेको दावी समेत गरेका छन् ।


सिंहदबारस्थित प्रधानमन्त्रीको कार्यालय भूकम्पपछि प्रवलीकरण गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत उक्त भवन २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएको थियो । तर, त्यही भवनमा करिब पाँच वर्ष प्रधानमन्त्रीको कार्यालय सञ्चालन भएको थियो ।


राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणद्वारा पुनःनिर्माण गरिएको उक्त भवनको उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय यही भवनमा सर्दैछ ।
भौतिक प्रबलीकरणपछि अत्याधुनिक सुविधा सम्पन्न बनाउन भवनमा आपत्कालीन तथा अग्नि नियन्त्रक संयन्त्रका अतिरिक्त कार्यालयमा २४सै घन्टा उपलब्ध हुने ताजा हावासहितको वातानुकूलन प्रणाली जडान गरिएको छ ।


सिंहदरबार पुर्ननिर्माण कार्यान्वयन गराइरहेको प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)का आयोजना निर्देशक श्यामकिशोर सिंहका अनुसार दुई चरणमा ठेक्का व्यवस्थापनमार्फत् यी मोहडाको पुनःनिर्माणमा हालसम्म मूल्य अभिवृद्धि करबाहेक रु ८७ करोड खर्च भएको छ ।


उत्तर, दक्षिण र पूर्व खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीजस्तै सिमेन्ट, बालुवा, छड, ‘बोण्डिङ केमिकल’ प्रयोग गरी पुरानै स्वरूप नबिग्रिने गरी प्रबलीकरण गरिएको छ । निर्माण कम्पनी शर्मा–न्यू टेक्निकलले प्रथम चरणको काम गरेको हो भने शर्मा–माइक्रोटेक–न्यू टेक्निकल जेभीले दोस्रो चरणको काम गरेको हो ।
सम्पदा संरक्षणको दृष्टिकोणले पुरानै शैली र स्वरूपमै बचाउन प्रबलीकरण नै गर्न उपर्युक्त भएको निष्कर्ष आएपछि प्राधिकरणले प्रबलीकरण गरिरहेको छ । विसं २०७६ असोज २७ गतेदेखि शुरु भएको पश्चिम मोहडाको पुनःनिर्माणको हालसम्म ५० प्रतिशत प्रगति भइसकेको छ । मूल्य अभिवृद्धि करबाहेक रु ४६ करोड ८८ लाखमा शर्मा–गौरी पार्वती–न्यू टेक्निकल जेभीले पश्चिम भागको प्रबलीकरण गरिरहेको छ ।

प्रतिक्रिया