भागरथीकै विद्यालयका छात्रद्वारा बलात्कार र हत्या गरेको स्वीकार
अखबार टुडे
प्रकाशित:
२०७७, ५ फाल्गुन

काठमाडौं, ५ फागुन । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या उनकै विद्यालयका सहपाठीले गरेको रहस्य खुलेको छ । स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत भागरथीको बलात्कारपछि हत्या गरेको दिनेश भट्टले स्वीकारको प्रहरीले जनाएको छ । जो भागरथीकै सहपाठी हुन् ।
माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् । माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजेमात्रै भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेका थिए ।
भागरथीको शव भेटिएको भोलिपल्ट अर्थात् माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट लगिएको तालिमप्राप्त कुकुरले अपराधी गएको बाटो देखाएपनि अपराधीको घरसम्म पुग्न सकेको थिएन ।
भट्टको बलात्कार र हत्यामा संलग्न रहेको आशंकामा अर्का एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको थियो । प्रहरीको टोलीले ती शंकितलाई शानिवार राति कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरी बैतडीसमेत पुर्याएको थियो । यद्यपि, अहिले उनकै विद्यालयका एक छात्रले भागरथीको बलात्कार र हत्या गरेको स्वीकार गरेका छन् ।

प्रतिक्रिया