कोरोनापछि राजेशपायलको पहिलो कन्सर्ट गृहजिल्लामै : भन्छन्, ‘३० वटा गीत गाउँछु’
अखबार टुडे
प्रकाशित:
२०७७, ४ फाल्गुन

काठमाडौं, ४ फागुन । मेगास्टार राजेशपायल राई यही १० फागुनमा आफ्नै गृहजिल्ला खोटाङमा प्रस्तुत हुँदैछन् । कोरोना महामारीपछि यो उनको पहिलो कन्सर्ट हो ।
‘कोरोना महामारीपछि आफ्नै जिल्लाबाट कन्सर्ट सुरु गर्दैछु’ राजेशपायलले भने, ‘यही फागुन १० गते खोटाङको मजुवागढी–५ मा मेरो कन्सर्ट छ ।’
संयोग कस्तो मिल्यो भने कोरोना संक्रमणअघि राजेशपायलको अन्तिम कन्सर्ट धरानमै थियो । गत फागुन २३ गते धरानमा प्रस्तुती दिएसँगै कोरोनाका कारण नेपालमा मात्र नभएर विश्वव्यापी लकडाउन भएपछि सबै कार्यक्रम स्थगित भएको थियो । स्थगित भएका कार्यक्रमहरु धमाधम हुन थालेका छन् । यसैबेला मेगास्टार राजेशपायलले आफ्नै गृह जिल्लाबाट कन्सर्ट सुरु गरेका हुन् ।
मजुवागढी नगरपालिका–५ लफ्याङमा हुने कन्सर्टमा आफ्ना नयाँ तथा पुराना २५ देखि ३० वटासम्म गाउने राजेशपायलले बताए । उनले भने, ‘कोरोनापछि पुनः मेरो सांगीतिक कार्यक्रम सुरु भएको छ । संक्रमणपछिको यो मेरो कार्यक्रम हो । आफ्नै जिल्लाबाट कार्यक्रम सुरु गर्न पाउँदा खुसी लागेको छ ।’


मेगास्टार राजेशपायल राई नेपाली सांगीतिक क्षेत्रमा सबैभन्दा व्यस्त मानिन्छन् । उनी वर्षभरी देश–विदेशका कार्यक्रममा व्यस्त हुन्छन् । कोरोना संक्रमण सामान्य अवस्थामा आएसँगै उनको व्यस्तता पुनः सुरु भएको हो । उनले भने, ‘कोरोनाका कारण रोकिएका मेरो कार्यक्रमहरु अब धमाधम हुने भएको छ ।’
कार्यक्रममा लागि सबै तयारी भइसकेको मजुवागढी–५ का वडा अध्यक्ष निर्मल राई बताए । उनका अनुसार जिल्लाव्यापी उक्त फुटवल प्रतियोगिताका राजेशपायललगायत राष्ट्रियस्तरका कलाकारहरुले मनोरञ्जन प्रदान गर्नेछन् । कार्यक्रममा गायक रेवत राई, गायिका बविना किराती, सागर संसार राई, सुमन सरगम राईलगायत स्थानीय कलाकारको पनि प्रस्तुती रहनेछ ।

प्रतिक्रिया