सावित्राले बाँकी खेल गुमाउँदै
अखबार टुडे
प्रकाशित:
२०७७, ४ फाल्गुन

काठमाडौं, ४ फागुन । खेलका क्रममा घाइते भएपछि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबका महत्वपूर्ण खेलाडी सावित्रा भण्डारीले बाँकी खेल गुमाउने भएकी छन् ।
एपिएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि नजिक पु¥याउन भूमिका निर्वाह गर्नुभएकी भण्डारी सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएकी हुन् । खेलको ६९औँ मिनेटमा पुलिसका गोलकिपर उषा नाथसँग ठोक्किएपछि उनी घाइते हुँदै मैदानबाट बाहिएिकी हुन् । उनको खुट्टामा चोट लागेको छ ।
एमआरआई रिपोर्ट आएपछि मात्रै कति समय मैदानबाहिर बस्ने भन्ने बारेमा थाहा हुने एपिएफका मुख्य प्रशिक्षक भगवती थापाले जानकारी दिए हरेकजसो खेलमा गोल गर्दै आउनुभएकी भण्डारीले सोमबार भने गर्न सकेनन् । उनले हालसम्म १० खेलमा ४३ गोल गरेकी छन् । महिला लिगमा हालसम्म कुनै पनि खेलाडीको यही नै उत्कृष्ट खेल प्रदर्शन हो । एपिएफले हालसम्म शतप्रतिशत नतिजा निकाल्दै १० खेलमा ३० अंक जोडेको छ ।

एपिएफ लिगको शीर्ष स्थानमा रहँदै उपाधि नजिक पुगेको छ । अब एक खेल जितेमा उपाधि जित्ने देखिन्छ । त्रिभुवन आर्मी क्लबले १० खेलबाट २५ अंक जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा छ । एपिएफले अब बुधबार विराटनगरसँग प्रतिस्पर्धा गर्ने छ । सोमबारको खेलमा एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया