आज श्रीपञ्चमी : राष्ट्रपति भणडारीबाट वसन्त श्रवण
अखबार टुडे
प्रकाशित:
२०७७, ४ फाल्गुन


काठमाडौं, ४ फागुन । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्वको अवसरमा मंगलबार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक आराधना गरी मनाइँदैछ । सो अवसरमा राष्ट्रपति विद्या भण्डारीबाट हनुमानढोका दरबारमा वसन्त श्रवण गरिएको छ । पुरानो चलनअनुसार राष्ट्र«ाध्यक्षका नाताले राष्ट्रपति भण्डारीले वसन्त श्रवण गरेकी हुन् ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतअनुसार मंगलबार बिहान १०ः१७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको थियो । वसन्त श्रवणमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नी सापकोटालगायत पनि सहभागिता रहेको थियो ।
आजको दिन काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको छ ।
आजको दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस वर्ष भने शुक्र अस्त भएकाले विवाह, व्रतबन्ध जस्ता कर्म यस पर्वमा गरिँदैन । आजैको दिन अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरिदिएर अक्षरआरम्भ गराउने र नाक–कान छेडिदिने गर्दछन् ।

प्रतिक्रिया