अफगानिस्तान–इरान सीमामा पाँच सय बढी ट्रक विष्फोट
अखबार टुडे
प्रकाशित:
२०७७, २ फाल्गुन

काठमाडौं, २ फागुन (एजेन्सी) । अफगानिस्तान र इरानको सीमा क्षेत्रमा एउटा इन्धन ट्यांकरमा बिस्फोट हुँदा विशाल आगलागी भएको छ । शनिबार सुरुमा एक ट्रकमा विष्फोट भएको र त्यसपछि अन्य ट्रकमा आगलागी भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
दुवै देशका अधिकारीहरूका अनुसार हेरात प्रान्तको इस्लाम क्वाला क्षेत्रमा भएको बिस्फोट र आगलागीमा परी ६० जना मानिस घाइते भएका छन् भने इन्धन र ग्याँस बोकेका पाँच सय बढी ट्रक जलेका छन् ।
स्थानीय समयअनुसार शनिबार दिउँसो १ः१० र १ः४२ मा उक्त क्षेत्रमा दुई ठूला बिस्फोट भएका थिए । ती दुई बिस्फोट यति ठूला थिए कि अन्तरिक्षमा रहेको नासाको स्याटेलाइटले पनि त्यसको तस्बिर खिचेको थियो । के कारणले बिस्फोट भएको हो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । हेरात चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका प्रमुख युनुस क्वाजिजादाले बिस्फोट र आगलागीमा ५ करोड डलरको क्षति भएको बताएका छन् ।
आगलागी रातिसम्म जारी थियो । अफगान अधिकारीहरूले आगो नियन्त्रणमा लिन इरानबाट आउने बिजुलीको लाइन बन्द गरेका थिए । राति अबेरमात्रै आगलागी नियन्त्रणमा लिइएको बताइएको छ ।
हेरात र इस्लाम क्वालाबीचको सडकलाई निकै जोखिमपूर्ण मानिन्छ । आपराधिक समूहहरूले आक्रमण गर्न सक्ने डरले अफगानहरू राति यो सडक प्रयोग गर्दैनन् । इरान आउने–जाने सवारी, एम्बुलेन्सले अन्य आपतकालीन सवारीलाई सुरक्षा दिन ठाउँठाउँमा सुरक्षाकर्मीले चेक प्वाइन्ट राखेका छन् ।
हेरात सहरबाट १२० किलोमिटर पश्चिममा रहेको इस्लाम क्वाला इरान र अफगानिस्तानको मुख्य व्यापारिक नाका हो । अमेरिकाले अफगानिस्तानलाई इरानबाट इन्धन र तेल ल्याउन छुट दिएको छ ।

प्रतिक्रिया