शक्ति प्रदर्शनको होड : ‘देख्नु भो, जनसभा भनेको यस्तो हुनुपर्छ’
अखबार टुडे
प्रकाशित:
२०७७, १ फाल्गुन

बुटवल, १ फागुन । नेकपा ओली पक्षले शनिबार बुटवलमा शक्ति प्रदर्शन गरेको छ । शनिबार आयोजित जनसभामा हजारौँको सहभागिता थियो । उक्त सभालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहलाई चुनौती दिँदै भने, ‘सभा भनेको कस्तो हुन्छ ? बुटवलमा हेर्न आउनुस् ।’
प्रतिनिधिसभा विघटनपछि दुई चिरामा विभाजित नेकपाबीच शक्ति प्रदर्शनमा त्रिएका छन् । यसैक्रममा शनिबार नेकपा ओली पक्षले शक्ति प्रदर्शन गरेको हो । जहाँ जनसहभागिता देखेर हौसिएका प्रधानमन्त्री ओलीले भने, ‘जनसभा भनेको यस्तो हुनुपर्छ । लौ हेनुस्, तीन तीर जनता भरिभराउ छन् । बस्ने ठाउँ छैन ।’


सभालाई सम्बोधन गर्दै उनले सरकारले मुलुकमा विकास गरिरहेको काम देखेर विपक्षीहरु सरकार ढलाउन लागिपरेको समेत बताए । पहिलो दुई वर्षमै भएको काम देखेर आत्तिएकाहरुले देशी–विदेशी शक्तिको आडमा सरकार र आफूविरुद्ध मोर्चाबन्दी गरेको उनले बताए ।
‘सरकारले मुलुक निर्माणको काममा फड्को मा¥यो । यसलाई आफ्नै पार्टीभित्रका कतिपयले देख्न सकेनन्, ओलीले भने, ‘पाँच वर्षसम्म ओलीले काम गर्न पायो भने त आगामी निर्वाचनमा आफ्नो बाकसै खाली हुन्छ भन्ने डरले देशी विदेशी शक्ति मेराविरुद्ध लागे ।’ लिपुलेक, लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि सरकार र आफूविरुद्ध षड्यन्त्र सुरु भएको उनको भनाइ थियो ।
उनले भने, ‘मेरो नेतृत्वमा सरकार गठन भएको तीन वर्ष पूरा भएको छ । यो बीचमा धेरै काम भएका छन, मैले फागुन ३ गते कामको विवरण टेलिभिजनबाट भन्नेछु, सबैले हेर्नुहोला ।’ यो सरकार गठन भएपछि भएका महत्वपूर्ण काम आफ्नै पार्टीका कतिपय नदेखी विरोधमा उत्रिने गरेको बताए ।
उनले यसो पनि भने, ‘उहाँहरु (प्रचण्ड–नेपाल)ले कहिल्यै विकास देख्नुभएन, अरु टेलिभिजनबाट सरकारलाई गाली गर्नुभयो । अहिले सडकबाट गाली पुराण नै चलिरहेको छ । माघ २८ गते काठमाडौंमा गाली पुराणको १७औँसम्म आयो ।’

उनले नेकपा फुटेको नभइ पार्टीको आँचरणलाई धमिल्याउने तत्वहरु निस्किएको उनले बताए । यसले सिंगो पार्टीलाई कुनै असर नपर्ने भन्दै ओलीले उनीहरु बाहिरिएपछि पार्टी रफ्तारमा अघि बढेको बताए । प्रधानमन्त्री ओलीले परिवार केन्द्रीत कल्याणमा लागेकाहरुसँग कुनै प्रतिष्पर्धा नभएको भन्दै आफूहरु विकास, समृद्धिको पक्षमा रहेको जिकिर गरे । उनले प्रतिष्पर्धा गर्न चाहनेहरुलाई आगामी चुनावको मतगणनामा आउन आग्रह गरे । आफ्नो नेतृत्वको पार्टीले ५० लाख लोकप्रिय मत र बहुमत प्रत्यक्ष निर्वाचित सिट ल्याउने दावी गर्दै भने, ‘यदि शक्ति छ भने चुनावमा बहुमत ल्याएर देखाउनुस् ।’

प्रतिक्रिया