नेपाली सुरक्षाकर्मीमाथि भारतीय तस्करको आक्रमण, तीन जना घाइते
अखबार टुडे
प्रकाशित:
२०७७, ३० माघ

वीरगन्ज, ३० माघ । भारतीय तस्करको आक्रमणमा तीन नेपाली सुरक्षाकर्मी घाइते भएका छन् । नेपाली भूमिमा छिरेर भारतीयले शुक्रबार बिहान नेपाली सुरक्षकर्मीमाथि आक्रमण गरेको हो ।
पर्साको जीराभवानी गाउँपालिका–१ पिपरडारीस्थित ओरीया खोलामा भइरहेको बालुवा तस्करी रोक्न गएका सशस्त्र प्रहरीको टोलीमाथि उनीहरुले नेपाली भूमिमै छिरेर आक्रमण गरेका थिए । सो आक्रमणबाट सशस्त्र प्रहरीका तीन जना जवान घाइते भएका हुन् । घाइतेमध्ये सशस्त्र प्रहरी जवानद्वय आयुष राय यादव र महेश प्रसाद यादवको अवस्था गम्भीर रहेको बताइएको छ ।
गम्भीर घाइते दुवैजनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताए । उनका अनुसार अर्का घाइते सशस्त्र प्रहरी जवान सुमन वस्तीको सेढवास्थित स्वास्थ्य चौकीमा उपचार गरिएको छ ।
भारतसँग सीमा जोडिएको पर्साको पिपरडारी गाउँस्थित ओरिया खोलामा भारतीय पक्षबाट भइरहेको बालुवा उत्खन्न रोक्न शुक्रबार बिहान सशस्त्र प्रहरी बोर्डरआउट पोष्ट पिडारीगुठी र महादेवपट्टीबाट सशस्त्र प्रहरीको २२ जनाको टोली खोलामा गस्ती गएको थियो । सशस्त्र प्रहरी निरीक्षकद्वय बसन्त जिसी र केदार राइको नेतृत्वमा गएको टोलीले खोलाबाट बालुवा लोड गरिएका भारतीयका ३ वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो । त्यहीबेला लठठी र भाला बोकेर आएका भारतीय तस्करले सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको हो ।
पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काका अनुसार ओरिया खोलामा रहेको ४२४ नम्बर पिल्लरस्थित दशगजा क्षेत्रमा गस्तीमा गएको टोलीमाथि भारतीय बालुवा तस्करले आक्रमण गर्दा २ जना सशस्त्र प्रहरी जवान घाइते भएका छन् ।

प्रतिक्रिया