विप्लवसहित चार दलको मोर्चाद्वारा संघर्षका कार्यक्रम घोषणा
अखबार टुडे
प्रकाशित:
२०७७, २९ माघ

काठमाडौं, २९ माघ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित चार राजनीतिक दलले १५ सदस्यीय रणनीतिक संयुक्त मोर्चा घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित मोर्चाको भेलाले सरकारविरुद्ध २९ माघदेखि १८ फागुनसम्मका संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
मोर्चाले फागुन ६ गते बुटवल, १४ गते धनगढी र १८ गते इटहरीमा जनसभा गर्ने जनाएको छ । मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रहेका छन् । कार्यक्रमामा मोर्चाको अवधारणा समेत सार्वजनिक गरिएको छ ।
रणनीतिक संयुक्त मोर्चाको केन्द्रीय समितिमा सीपी गजुरेल, राम सिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, ऋषिराम कट्टेल, रामदुलार महतो, राजेश वान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नविन रिजाल रहेका छन् ।

प्रतिक्रिया