अब नागरिक एपबाटै सामाजिक सुरक्षा कोष, एक लाख ८८ हजार सूचीकृत
अखबार टुडे
प्रकाशित:
२०७७, २७ माघ

काठमाडौं, २७ माघ । सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले नागरिक एपमार्फत कोषले प्रदान गर्ने सम्पूर्ण सेवा मोबाइलबाटै लिनसक्ने भएका छन् । सरकारले प्रवाह गर्ने सेवालाई ‘डिजिटलाइज’ गरी एकीकृत ‘प्लेटफर्म’मार्फत सेवा प्रवाह गर्ने लक्ष्यअनुसार नै कोषले प्रदान गर्ने सेवा मोबाइलबाट हातहातमै प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
कोषका प्रवक्ता विवेक पन्थीले योगदानकर्ताले एपमार्फत आफ्नो नाममा जम्मा भएको योगदान रकमलगायत विस्तृत विवरण हेर्न सक्ने बताए । उनका अनुसार योगदानकर्ताले कुन महिनामा कति योगदान रकम जम्मा भयो, भएन, कति प्रतिशत जम्मा भयो भन्ने सम्पूर्ण विवरण सहजै मोबाइलबाटै हेर्न सकिनेछ ।
कोषले योगदानकर्तालाई विभिन्न किसिमका सुविधा उपलब्ध गराउँदै आएको छ । अब छिट्टै कोषले प्रदान गर्ने सेवाका लागि एपबाटै आवेदन दिन सक्ने व्यवस्था मिलाइने बताइएको छ । कोषले उपलब्ध गराएको सामाजिक सुरक्षा नम्बर राखेर एपमार्फत योगदानकर्ताले आफ्नो सम्पूर्ण विवरण हेर्न सक्नेछन् । ‘सामाजिक सुरक्षा कोषको अनलाइन प्रणालीबाट योगदानकर्ताले हेर्न सक्ने सम्पूर्ण विवरण अब एपमार्फत आ–आफ्नो मोबाइलमा हेर्न सकिने छ’, प्रवक्ता पन्थीले भने ।
योगदानकर्ताले कोषबाट कर्जा लिएको भए त्यसको विवरण, अन्य सेवा सुविधा लिएको भए पनि त्यसको सम्पूर्ण विवरण मोबाइलमै हेर्न सकिने छ । पहिलो चरणमा औपचारिक क्षेत्रमा सामाजिक सुरक्षा योजना लागू भएको र छिट्टै अनौपचारिक र स्वरोजगार श्रमिकलाई पनि योजनामा समेट्ने सन्दर्भमा झ्न यो एपको महत्व बढ्ने उनले बताए ।
‘अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई पनि कोषको दायरामा ल्याउने अवस्थामा योगदान रकम संकलन गर्न मोबाइल एपले सहज गर्नेछ’, उनले भने, ‘एपबाटै निवेदन दिएर आफूलाई चाहिने सेवा सुविधा र विभिन्न शीर्षकको कर्जा आवेदन गर्न सकिनेछ ।’ हाल औपचारिक क्षेत्रका श्रमिकको योगदान रकम रोजगारदाताले नै कोषमा जम्मा गर्दै आएका छन् ।
एक लाख ८८ हजार कोषमा सूचीकृत
यसैबीच गत बिहीबारसम्म कोषमा एक लाख ८८ हजार ४५० योगदानकर्ता सूचीकृत भएको छन् । वागमती प्रदेशबाट एक लाख ४१ हजार १०१, प्रदेश १ बाट १९ हजार ४४४, प्रदेश २ बाट १३ हजार ६९५, गण्डकीबाट सात हजार ७६, लुम्बिनीबाट पाँच हजार ९६८, सुदूरपश्चिमबाट ६८८ र कर्णाली प्रदेशबाट ४६० योगदानकर्ता कोषमा आबद्ध भएका छन् । कोषमा हालसम्म रु चार अर्ब पाँच करोड ६६ लाख योगदानरकम सङ्कलन भएको छ । तीन करोड ४९ लाख दाबी भुक्तानी भएको कोषले जनाएको छ ।

प्रतिक्रिया