अध्यक्ष प्रचण्डले भने, ‘हामीलाई लोकतन्त्र पक्षधरहरुको समर्थन चाहिएको छ’
अखबार टुडे
प्रकाशित:
२०७७, २७ माघ

काठमाडौं, २७ माघ । प्रतिनिधिसभा विघटनपछि आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुसँग भेटेर समर्थन मागेका छन् । मंगलबार पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रतनिधिसभा विघटन संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्रक्रियामाथिकै प्रहार भएको बताए ।
नेकपाले चीन, भारत, अमेरिका र युरोपेली युनियनलगायत लोकतन्त्र पक्षधरहरुको समर्थन खोजिएको जनाइएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा आमसभा तय गरेको अघिल्लो दिन उनीहरुले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारसँग भेटेका हुन् । नेकपा प्रचण्ड–माधव समूहले बुधबार अर्थात २८ माघमा काठमाडौंमा बृहत आमसभा गर्दैछ ।
नेपालमा लोकतन्त्रको हत्या भइरहेको भन्दै प्रचण्डले नेपालमा लोकतन्त्रको हत्या भइरहेको बताए । उनले भने, ‘लोकतन्त्रको पक्षमा हुने सबैको समर्थन हामीलाई चाहियो भनेर औपचारिक अपील गरेका छौँ ।’
छलफलका क्रममा प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले संविधानको भावनाअनुसार फैसला गर्छ भन्ने विश्वास व्यक्त गरेका थिए । असंवैधानिक र अलोकतान्त्रिक ढंगले संविधान मिचिसकेपछि त्यसको मातहतमा हुने चुनाव पनि असंवैधानिक र अलोकतान्त्रिक हुने उनको भनाइ छ । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री निकट मानिसहरुले ‘सेटिङ भइसकेको छ, सर्वोच्च र निर्वाचन आयोगले हामीले भनेअनुसार नै निर्णय गर्छ’ भनेर तलसम्म प्रचार गरेपनि त्यस्तो नहुने विश्वास व्यक्त गरे । ‘सर्वोच्च अदालत, निर्वाचन आयोग संवैधानिक व्यवस्थाअनुसार आफ्नो काम स्वतन्त्र ढंगले गर्छन् भन्ने हाम्रो विश्वास छ’ उनको भनाइ थियो ।’

प्रतिक्रिया