कुर्था-जयनगर रेल सञ्चालनका लागि तयारी पूरा
अखबार टुडे
प्रकाशित:
२०७७, २६ माघ

काठमाडौं, २६ माघ । सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ । औपचारिकरुपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।
भारतीय कोनकोन कम्पनीबाट केही समयमा नै संरचना जिम्मा लिइने कम्पनीले जनाएको छ । भारत सरकारले नेपाल सरकारलाई केही समयपछि औपचारिकरुपमा संरचना हस्तान्तरण गर्ने भए पनि अहिले सञ्चालनका लागि जिम्मेवारी लिन लागिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए । कम्पनीसँगको समन्वयमा प्राविधिक कर्मचारी २६ जना ल्याउन लागिएको छ । उनले भने, ‘त्यसमा रेल चालक, स्टेशन मास्टर, पावर म्यानेजर, सिनियर ट्राफिक म्यानेजरलगायत रहनेछन् ।’
भारतसँगको सम्झौताको विषय आजको मन्त्रिपरिषद्को बैठकमा छलफल हुने बताइएको छ । आज नै प्रमाणित सञ्चालन कार्यप्रणाली (स्टाण्डर्ड ओपरेटिङ प्रोसिडर) पनि बैठकमा छलफल हुनेछ । भारतसँग उताबाट ल्याइने जनशक्ति र आवश्यक सामग्री ल्याउने विषयमा समेत छलफल हुने बताइएको छ ।
कम्पनीसँग खरीद गर्ने सामग्री र जनशक्तिका विषमा कुराकानी भइसकेको छ । उताबाट टोलीले स्थलगत भ्रमणसमेत गरेको थियो । उनले भने, ‘यताबाट पत्र दिनासाथ उताको टोली तयारी अवस्थामा छ ।’ नेपाली कर्मचारी र अरु प्राविधिक तयारी अवस्थामा रहेको महानिर्देशक भट्टराईले बताए ।
रेल नियमित सञ्चालनका लागि नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा उद्घाटन गर्ने गरी छलफल भइरहेको कम्पनीले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने कुरा नेपालस्थित भारतीय दूतावासले बताएको छ ।
भाडादर र टिकटका विषयमा यसअघि नै टुङ्गो लागिसकेको महाप्रबन्धक भट्टराईले बताए । कम्प्युटर खरीद सकेर उता लगेर राख्न तयारी अवस्थामा छ । भाडादरका विषयमा कम्पनीले मन्त्रालयमा प्रस्ताव गरिसकेको छ । बसलगायतका अरु सवारीसाधनको भाडादरमा चलाउन तयारी गरिएको उनले बताए । सामान्य सिटमा ३५ किमी रेलमार्ग यात्रा गर्न रु ७५ भाडादर तोकिएको छ । उनले भने, ‘डिलक्सको भाडा सामान्यभन्दा चारपाँच गुणा बढी हुनेछ ।’

प्रतिक्रिया