नेपाल खबर

ओलीको प्रवृत्तिलाई बेलैमा चिन्न नसक्दा गल्ती महसुस भइरहेको छ : अध्यक्ष प्रचण्ड

काठमाडौं, २४ माघ । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनैपनि हालतमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदम फिर्ता हुनुपर्ने बताएका छन् ।
शनिबार मिडिया एलाइन्ससँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अल्पमतमा रहेका प्रधानमन्त्री ओलीले लोकतन्त्रको हत्या गरेको समेत बताए ।
‘यो सत्य र असत्य, अग्रगमन र प्रतिगमनबीचको संघर्ष हो’ उनले भने, ‘ओलीको पक्षमा पार्टीदेखि संसदसम्म कहिँकतै बहुमत छैन । अल्पमतमा रहेकै कारण उनले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदम चाले ।’
अध्यक्ष प्रचण्डले आफूहरु कसरी संविधानको रक्षा गर्ने भन्ने चिन्ताका साथ लागिपरेका बताउँदै भने, ‘प्रधानमन्त्री ओलीमा गणतन्त्रको माया पहिलेदेखि नै थिएन ।’ उनले ओलीको प्रवृत्तिलाई बेलैमा चिन्न नसकेकोमा अहिले गल्ती महसुस भएको भन्दै आफूहरु गम्भीर आत्मसमीक्षातिर रहेको बताए ।
‘यो प्रवृत्तिलाई बेलैमा रोक्न किन सकिएन ? हामी आत्मसमीक्षा गर्छौं’ प्रचण्डले भने, ‘आफ्नै पार्टीको अध्यक्ष र आफैले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्रीले झण्डै ७० वर्ष लगाएर प्राप्त गरेको उपलब्धिलाई एकैपटक घनले हानेपछि हामी मर्माहत भएका छौँ ।’ अध्यक्ष प्रचण्डले अब चाँडै श्वेतपत्र जारी गर्ने समेत बताए । ‘पार्टीभित्रको विवादको विषयमा श्वेतपत्र जारी गर्नेबारे छलफल भइरहको छ, हामी छिट्टै छलफल सकेर श्वेतपत्र जारी गर्नेछौँ ।’

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top