आमसभाका लागि हटाइयो सडक डिभाइडर : दरबारमार्ग रत्नपाकै हालत हुने चिन्ता !
अखबार टुडे
प्रकाशित:
२०७७, २२ माघ

काठमाडौं, २२ माघ । दरबारमार्ग, काठमाडौंको व्यापारिक केन्द्र हो । जहाँ पहिलोपटक शुक्रबार नेकपा ओली पक्षले आमसभा गर्दैछ । त्यसका लागि बिहीबार नै तयारी सुरु गरिएको छ ।
नेकपा ओली पक्षले शुक्रबार नारायणहिटी दरबार संग्रहालय अगाडि आमसभा गर्ने भएपछि दरबारमार्गको सडकका डिभाइडर हटाइएको छ । दरबारमार्गको सडकको बीचमा राखिएको डिभाइडर बिहीबार साँझ हटाएर सडक खाली बनाइएको हो । त्यहाँबाट हटाइएको डिभाइडर नारायणहिटी दरबार संग्रहालयको पर्खालमा अड्याएर राखिएको छ । शुक्रबार गर्ने आमसभालाई ओली समूहको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ । आमसभामा सहभागी हुन उपत्यका बाहिरबाट आजै साँझबाट नेकपा ओली पक्षका कार्यकर्ता काठमाडौं आउन सुरु गरेका छन् । बागमती प्रदेश स्तरिय आमसभा भनिएको यो सभाका तराईका जिल्लाबाट समेत दर्जनौँ गाडीमा मान्छे ल्याइँदैछ ।
राजनीतिक दलले दरबारमार्गमा आमसभा गर्ने भएपछि त्यहाँ व्यापारीहरुले पनि विरोध गर्दै आएका छन् । यसअघि राजनीति दलहरुले रत्नपार्क, माइतीघर मण्डला, नयाँ बानेश्वर, बसन्तपुर डबलीलगायतका स्थानमा विरोध सभा गर्दै आएका थिए । तर, यसपटक सत्तापक्षले नै यहाँ आमसभा आयोजना गर्दैछ । सधै व्यापार व्यवसायीमा व्यस्त दरबारमार्गका व्यापारीहरु यहाँ आमसभा गर्ने भएपछि आतंकित भएका छन् । उनीहरुले शुक्रबार दरबारमार्ग बन्द गर्ने समेत यसअघि नै घोषणा गरेका छन् । उनीहरुको चिन्ता भनेको भोलीका दिनमा अन्य राजनीति दलले पनि आमसभा र विरोध सभाको हब बन्ने हो कि भन्ने डर छ । ‘सत्ता पक्षले नै आमसभा गर्न सुरु गरेपछि भोलि अरुले नगर्ला भन्न सकिन्न’ एक व्यापारी भने, ‘यस्तै हो भने दरबारमार्ग पनि अब रत्नपार्ककै हालत होला ।’

प्रतिक्रिया