आमहड्ताल अपडेट: ९३ जना बन्दकर्ता पक्राउ, आधा दर्जन बढी सवारी तोडफोड
अखबार टुडे
प्रकाशित:
२०७७, २२ माघ


काठमाडौं, २२ माघ । नेकपा प्रचण्ड–माधव समूहले आयोजना गरेको देशव्यापी आमहड्तालमा बिहीबार देशका विभिन्न स्थानबाट मध्यान्हसम्म ९३ जना बन्दकर्ता पक्राउ परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंबाट ७६, भक्तपुरबाट १ तथा तनहुँबाट १६ जना पक्राउ परेका छन् ।
बन्दको क्रममा अवज्ञा गरेको भन्दै देशका विभिन्न स्थानमा सवारीसाधनमाथि आगजनी तथा तोडफोड भएका छन् ।

बिहीबार बिहानै गोंगबुमा एक ट्याक्सीमाथि आगजनी भएको छ । कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहका अनुसारे दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेका दिए । यस्तै, गोंगबुमा टाटासुमो तोडफोड गरिएको छ । आमहड्ताल उल्लंघन गरेको भन्दै सुमो तोडफोड गरिएको हो । गोंगवु चोकबाट कपुरधारा जाने बाटोमा ना १ ज ८८५९ नम्बरको सुमो तोडफोड गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, चाबहिलको मित्रपत्रमा बा ५ ख २०३९ नम्बरको मिनिबसमा तोडफोड गरिएको छ भने कलंकीस्थित मकालु पेट्रोल पम्पनजिकै बा १ ज ६९३० नम्बरको ट्याक्सीको पछाडि सिसा फुटाइएको छ ।

नैकापमा बा ७ च ६५३९ नम्बरको कारमा ढुंगा प्रहार भएको छ ।
यस्तै, बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुइ र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन् ।
बन्दकर्ताले ना३ख ३९३, ना१क १४३५ र ना८ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका बन्द कर्ताले भरतपुर महानगरपालिका–१ भतेरीमा ट्रक तोडफोड गरेका हुन् ।


यस्तै, इलाममा पनि ट्रकमाथि तोडफोड गरिएको छ भने हेटौँडामा बा ७ ख ९२८० नम्बरको ट्रकको सिसा फुटाइएको छ ।
यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गको झलारीमा चल्दै गरेको बसमा अज्ञात समूहले ढुङ्गा प्रहार गरेको छ । बिहान बन्दको अवज्ञा भएको भन्दै तोडफोड र आगजनी भएपनि भित्रि सडकमा सवारी गुडिरहेका छन् । मुख्य सडकहरुमा भने सवारी चलेको छैन
नेकपा प्रचण्ड–माधव समूहका नेता तथा कार्यकर्ताहरु बन्द सफल पार्न चोक चोकमा निस्केका छन् । बन्द सफल पार्न अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल समेत सडकमा निस्किएका छन् । अध्यक्ष प्रचण्डले कोटेश्वरमा कार्यकर्तालाई सम्बोधन गर्दै पाmगुन पहिलो साताबाट जनआन्दोलन हुने घोषणा गरेका छन् । आजको आमहड्ताल सफल पार्न नेकपाले विभिन्न स्थानका लागि कमाण्डर तोकेको छ ।

प्रतिक्रिया