नेपाल खबर

आमहड्ताल अपडेट : तोडफोड र आगजनी, विभिन्न ठाउँबाट ७१ जना पक्राउ


काठमाडौं, २२ माघ । नेकपा प्रचण्ड–माधव समूहको आमहड्ताल असफल बनाउन काठमाडौं उपत्यकाबाट प्रहरीले बन्द गराउन सड्कमा निस्केकालाई धमाधम पक्राउ गरेको छ । काठमाडौं र भक्तपुरबाट बिहीबार बिहानै ७१ जनालाई पक्राउ गरिएको छ ।
आज नेकपा प्रचण्ड–माधव समुहले आमहड्ताल घोषणा गरेको छ । सो क्रममा काठमाडौंबाट ७० जना र भक्तपुरबाट १ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशिल सिंह राठौरले जनाए ।


यस्ै, कलंकीबाट प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका नेता हितमान शाक्य र अष्टलक्ष्मी शाक्यसहित ८ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई महाराजगञ्ज स्थित सशस्त्र प्रहरी गण नम्बर–२ मा राखिएको छ । बन्द गराउन सड्कमा निस्केर तोडफोडमा उत्रिएकालाई नियन्त्रणमा लिइएको एसपी राठौरले बताएका छन् ।
आमहड्ताल गराउन शान्तिबाटीकामा नेकपाका नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा ४० जनाको समूह निस्केको छ । सातदोबाटोमा देव गुरुङ र गोंगबुमा हिमाल शर्माको नेतृत्वमा प्रदर्शन गरिएको छ ।
आमहड्तालमा प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ । गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो ।
गोंगबुमा टाटासुमो तोडफोड
बिहीबार बिहानै गोंगबुमा एउटा ट्याक्सीमाथि आगजनी भएको छ । दुई अज्ञात व्यक्तिहरुले ट्याक्सीमाथि आगजनी गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
यस्तै, गोंगबुमा टाटासुमो तोडफोड गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले आयोजना गरेको आमहड्ताल उल्लंघन गरेको भन्दै सुमो तोडफोड गरिएको हो ।

आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने प्रचण्ड–प्रचण्ड माधव पक्षले स्पष्ट पारेको छ ।
यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अवरोध हुनेछैन । बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा यातायत, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने जानकारी दिइयो ।

Click to comment
To Top