काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले आज आमहड्तालले गर्दा देशभर प्रभावित भएको छ । संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–माधव समूहले आज बिहीबार आमहड्ताल गरेको हो ।
विहानैदेखि हड्ताल सफल बनाउन नेकपाका कार्यकर्ताहरु सडकमा उत्रिएका छन् । सुरक्षाकर्मी पनि बाक्लो मात्रामा परिचालन भएका छन् । केही ठाउँमा कार्यकर्ता र प्रहरीबीच घम्साघम्सीसमेत भएको छ ।
यसैबीच कलंकीबाट नेकपा नेतृ अष्टलक्ष्मी शाक्यसहित नेता–कार्यकर्ता पक्राउ परेका छन् । प्रचण्ड–माधव समुहले नेतृ शाक्यलाई कलंकी क्षेत्रको कमान्डर तोकेको थियो । कलंकी क्षेत्रबाट ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नेकपाका युवा नेता दीपशिखाका अनुसार गोंगबु क्षेत्रबाट पनि नेकपाका कार्यकर्ताहरु पक्राउ परेका छन् । उनले लेखेका छन्, ‘गोंगबु सामाखुसीबाट एकाबिहानै ओली सरकारले गिरफ्तार गरेका युवाहरू मिलन तमाङ,समीर तमाङ, रमेश तमाङ, राज कुमार तमाङ, राजेन्द्र पाण्डेलाई तत्काल रिहा गर्न माग गर्दछौं ।’
प्रहरीले बिहानैदेखि बन्द गर्न हिँडेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुलाई पक्राउ गरिरहेको छ । गोंगबुमा एउटा ट्याक्सीमाथि आगजनीसमेत भएको छ । दुई अज्ञात व्यक्तिहरुले ट्याक्सीमाथि आगजनी गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहको भनाई छ ।
नेकपा प्रचण्ड(माधव समुहले बिहानै केही स्थानमा आन्दोलनकारीमाथि सुरक्षाकर्मीले धरपकड गरेको जनाएको छ । बिहान ६ बजे अगावै युवा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको नेकपाले जनाएको हो ।