प्रचण्ड-माधव समूहको आमहड्ताल : यस्तो छ, प्रहरीको ‘आकस्मिक’ सुरक्षा योजना
अखबार टुडे
प्रकाशित:
२०७७, २१ माघ


काठमाडौं, २१ माघ । नेकपा प्रचण्ड–माधव समूहले आकस्मिक रुपमा बिहीबार देशव्यापी आमहड्ताल घोषणा गरेपछि प्रहरीले पनि आकस्मिक सुरक्षा योजना बनाएको छ । आमहड्ताललाई लक्षित गर्दै नेपाल प्रहरीले सबै जिल्ला प्रहरी कार्यालय, राजधानी उपत्यकामा परिसरहरुले आवश्यक सुरक्षा योजना बनाएको हो ।
बिहीबारको आमहड्तालका लागि अत्याधिक प्रहरी परिचालन गर्ने सुरक्षा योजनामा रहेको छ । बन्दका क्रममा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न साबिकको भन्दा प्रहरी जनशक्ति बढाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । कार्यालयका अनुसार साबिकको भन्दा पैदल, मोबाइल, पिकेट गस्ती बढाइएको छ ।
शान्तिपूर्ण वातावरणमै आमहड्ताल सम्पन्न होस् र सर्वसाधारणले शान्ति सुरक्षा र अमनचयनको प्रत्याभूत गरून् भन्ने उद्देश्यबाट प्रहरी परिचालन हुने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले बताएका छन् । उनका अनुसार उपत्यकाका तीन वटै जिल्लास्थित सुरक्षा प्रमुखहरूलाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन भनिएको छ ।
राजनीतिक पार्टीको विरोध आन्दोलनका क्रममा शान्तिपूर्ण प्रदर्शनमा बाधा नपर्ने भन्दै जबरजस्ती बन्द गराउने, आगजनी र तोडफोड भए प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्ने पालको भनाइ छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरका अनुसार उपत्यकामा रानीपोखरीले र अन्य ठाउँमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयले सुरक्षा योजना बनाएका छन् । त्यसमा केन्द्रको आवश्यक निर्देशन छ ।

प्रतिक्रिया