नेकपाको बिहीबार आमहड्ताल : के खुल्छ ? के-के बन्द ?
अखबार टुडे
प्रकाशित:
२०७७, २१ माघ

काठमाडौं, २१ माघ । प्रतिनिधिसभा विघटनको विरुद्धमा चरणबद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले बुधबार आमहड्लताल घोषणा गरेको छ । प्रतिनिधिसभा विघटनपछि काम चलाउ सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा आमहड्ताल गर्ने घोषणा गरेको हो ।
बुधबार विभिन्न संवैधानिक निकायमा नियुक्त पदाधिकारीहरूले राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ लिएका थिए । सरकार र राष्ट्रपति मिलेर असंवैधानिकरुपमा संवैधानिक निकायहरूमा नियुक्ति गरेको भन्दै प्रचण्ड–माधव समूहले आकस्मिकरुपमा बिहीबार देशब्यापी आमहड्ताल घोषणा गरेको हो ।
आमहड्तालमा के चल्छ, के चल्दैन ?
प्रचण्ड–माधवको समूहले आह्वान गरेको आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, मिडिया, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने स्पष्ट पारेको छ ।
यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अवरोध नहुने जनाएको जनाएको छ । यातायात, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था भने बन्द हुने जनाएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बुधबार आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक निकायहरुमा गरिएको नियुक्ति बलमिच्याई र निरंकुशतन्त्रको पराकाष्ठा भएको बताए । उनले त्यसको विरोधमा आमहड्ताल गर्नु आफूहरुको बाध्यता भएको बताए ।

प्रतिक्रिया