संवैधानिक निकायमा नियुक्त पदाधिकारीहरुलाई सपथ (सूचिसहित)
अखबार टुडे
प्रकाशित:
२०७७, २१ माघ

काठमाडौं, २१ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराएकी छन् । मंगलबार ४५ दिन पुगेपछि उनीहरुलाई नियमावलीअनुसार संसदीय सुनुवाइविनै बुधबार नियुक्त गरिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको विभिन्न धारा बमोजिम संवैधानिक परिषद्को सिफारिसमा संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको आज नियुक्ति गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले बताएका छन् ।
राष्ट्रपति भण्डारीको उपस्थितिमा संवैधानिक निकायमा प्रमुख र अध्यक्षलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सपथ गराएका हुन् । त्यसपछि, सम्बन्धित निकायका प्रमुख र अध्यक्षले आयुक्त र सदस्यहरूलाई सपथ गराएका थिए ।

सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, संविधान सभाका अध्यक्ष सुवास नेम्वाङलगायत सहभागी भएका थिए । तर, सभामुख अग्निप्रसाद सापकोटा भने सपथ समारोहमा सहभागी भएनन् ।
सभामुख सापकोटा नियुक्ति सिफारिसको निर्णय गरिएको मंसिर ३० गतेको बैठकमा पनि अनुपस्थित थिए । केही दिनअघि सभामुख अग्निप्रसाद सापकोटाले सिफारिस पत्र सक्कलै फिर्ता गरिदिएका थिए। सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन पनि अनुपस्थित थिए ।
३० मंसिरमा बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न निकायमा ३८ जनाको सिफारिस गरेको थियो । सोही दिन अध्यादेश जारी गरी नियुक्तिका लागि सिफारिस गरेको थियो । सरकारले उनीहरुको संसदीय सुनुवाइका लागि पुस ५ गते संसद सचिवालयमा विवरण पठाएको थियो । तर, सोही दिन प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

प्रतिक्रिया