खेलाडीसँग प्रधानमन्त्री : भने, ‘नेपाल हार्न जान्दैन’
अखबार टुडे
प्रकाशित:
२०७७, २० माघ

काठमाडौं, २० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेलकूद क्षेत्रको विकासमा सरकारको सहयोगी भूमिका रहने बताएका छन् । मंगलबार राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले आयोजना गरेको ‘खेलकूदसँग प्रधानमन्त्री’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले कोरोना महामारीका कारण खेलकूदमा अरु वर्षभन्दा न्यून बजेट उपलब्ध गराइएको बताउँदै आगामी वर्ष आवश्यक बजेट उपलब्ध गराइने आश्वासन दिए ।
नेपालले गत वर्ष नेपालमै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा उल्लेख्य उपलब्धि हासिल गरेकामा खुशी व्यक्त गर्दैै आगामी प्रतियोगितामा पनि नेपाली खेलाडीले देशको गौरव बढाउँदै जाने विश्वास व्यक्त गरे । हालै नेपाली टोलीले विश्वको दोस्रो अग्लो हिमाल केटुको सफल आरोहण गरी कीर्तिमान कायम गरेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालीले हार्न नजानेको बताए ।
खेललाई सबै नेपालीले आफ्नो जीवनको अभिन्न अंग बनाउनुपर्ने प्रधानमन्त्री ओलीले सुझाव दिँदै जहिले पनि स्वर्ण पदक नै प्राप्त गर्ने गरी प्रतियोगितामा भाग लिन खेलाडीसँग आग्रह गरे । खेलाडीलाई सफलता दिलाउन प्रशिक्षक र सम्म्बन्धित खेल संघको अहं भूमिका रहेको जनाउँदै प्रधानमन्त्री ओलीले न्यून स्रोत साधन भए पनि नेपालले खेलकूद क्षेत्रमा उल्लेख्य सफलता हासिल गर्दै गएको बताए ।
‘खेलकूदको खर्चलाई बेकारको ठान्नु हुँदैन, खेलकूद पनि उत्पादक क्षेत्र हो, खेलकूदमा गरिएको लगानी खेर जाँदैन, यसले देशकै गौरव बढाउँछ’, उनले भने । नेपालको भूगोलअनुसारका खेल अघि बढाउन तथा परम्परागत र मौलिक खेलको अन्तरराष्ट्रियकरण गर्न जरुरी रहेको उनको भनाइ थियो ।
कार्यक्रममा सहभागी खेलाडी, प्रशिक्षक र पदाधिकारीको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले अस्थायी र करारमा काम गर्दै आएका कर्मचारी तथा दुई दशकदेखि एउटै तहमा काम गर्दै आएका कर्मचारीको समस्या समाधानका लागि प्रतिवेदन पेश गर्न युवा तथा खेलकूदमन्त्री दावा लामा तामाङलाई निर्देशन दिए ।
खेलकूदमा सम्बन्धित मन्त्री र पदाधिकारीले आआफ्ना मान्छे भर्ना गर्दा पनि समस्या आउने गरेको उनको भनाइ थियो । मूलपानीमा निर्माणाधीन क्रिकेट मैदान चाँडै सम्पन्न गर्न सरकारले पहल गर्ने प्रधानमन्त्री ओलीले आश्वासन दिए ।
यस्तै राष्ट्रिय खेल भलिबलको विकासका लागि राजधानीमा सुविधासम्पन्न कभर्ड हल निर्माण गर्न जग्गा तथा भौतिक पूर्वाधार निर्माणको काम दुई वर्षभित्र सम्पन्न गरिने उनले बताए ।
सो अवसरमा युवा तथा खेलकूदमन्त्री तामाङले खेलकूदको विकासका लागि आफूले सक्दो पहल गर्ने तथा खेलाडी, प्रशिक्षक, सङ्घका पदाधिकारी र कर्मचारीसित छलफल गरी योजना अगाडि बढाइने जानकारी दिए ।
अन्तरक्रियाको प्रारम्भमा राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले सरकारले खेलकूदमा लगानी बढाउनुपर्ने र त्यसले परिणाम पनि राम्रो दिने जनाउँदै नेपालको खेलकूदको अवस्थाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया