संवैधानिक आयोगमा नियुक्ति रोक्न माग गर्दै सर्वोच्चमा रिट, संवैधानिक परिषदको बैठक स्थगित
अखबार टुडे
प्रकाशित:
२०७७, २० माघ

काठमाडौं, २० माघ । संवैधानिक आयोगमा नियुक्ति र शपथ ग्रहण रोक्न माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ‘संवैधानिक आयोगको नियुक्ति र सपथ रोकिपाऊँ’ भन्ने रिट निवेदन पेश गरेका हुन् ।
निवेदक त्रिपाठीले रिटमा प्रतिषेध, उत्प्रेषण तथा परमादेशलगायत अन्य उपयुक्त आदेशको माग गरेका छन् । रिटमा राष्ट्रपतिको कार्यालय शीतलनिवास, प्रधानमन्त्री र प्रधानमन्त्री, संवैधानिक परिषद्का अध्यक्ष, सभामुखलाई विपक्षी बनाइएको छ ।
निवेदनमा गत मंसिर ३० गते संवैधानिक परिषद्को बैठक बसेर विभिन्न आयोगहरुमा नियुक्तिका लागि गरेको सिफारिस नियुक्ति रोक्न माग गरिएको छ ।
यसैबीच बुधबारका लागि बोलाइएको संवैधानिक परिषदको बैठक स्थगित गरिएको छ । मंगलबार सुचना पठाएर परिषद् सदस्यहरुलाई बैठक स्थगित भएको जानकारी दिइएको हो । ‘मिति २०७७ माघ २१ गते बुधबार बेलुकी ५ बजेलाई बोलाइएको संवैधानिक परिषद् बैठक अर्काे सूचना नआएसम्मका लागि स्थगित भएको छ’ सुचनामा भनिएको छ ।
यसअघि सभामुख अग्नि सापकोटाले विभिन्न आयोगका प्रमुख तथा सदस्यहरु नियुक्तिका लागि परिषद्ले गरेको सिफारिस फिर्ता पठाएका थिए ।

प्रतिक्रिया