‘पुटिन दरबार’ पुटिनको नभई आफ्नो भएको अर्बपति आर्काडीको दावी
अखबार टुडे
प्रकाशित:
२०७७, २० माघ

काठमाडौं, २० माघ । रुसी व्यापारी आर्काडी रुटन्बियर्गले कृष्णसागरको तटमा रहेको एउटा विलासी दरबारको मालिक राष्ट्रपति भ्लादिमिर पुटिन नभई आफू भएको बताएका छन् ।
क्रेम्लिनका कट्टर आलोचक एलेक्सी नभाल्नीले उक्त दरबारबारे बनाइएको भिडिओ सार्वजनिक गरेपछि त्यो छोटो समयमै रुसभरि भाइरल बनेको थियो । ‘पुटिनको दरबार’ नाम दिइएको उक्त भिडिओ अहिलेसम्म १९ करोडभन्दा बढी पटक हेरिसकिएको छ । गत साताको सुरुमा राष्ट्रपतिले उक्त भिडिओमा गरिएको दाबीको आलोचना गरेका थिए ।
राष्ट्रपति पुटिनसँग निकट सम्बन्ध रहेका अर्बपति रुटन्बियर्गले गत साता त्यो सम्पत्ति आफ्नो भएको भनी सार्वजनिक दाबी गरेका थिए । क्रेम्लिन समर्थक म्यास टेलिग्राम च्यानलबाट प्रसारण गरिएको अन्तर्वार्तामार्फत् उनले उक्त खुलासा गरेका थिए ।
‘केही वर्षअघि मैले ऋणदातासँग सम्झौता गरेको थिएँ र केही वर्षअघि म उक्त क्षेत्रको हकदार बनेको थिएँ’ रुटन्बियर्गलाई उद्धृत गर्दै उनको प्रेस कार्यालयले जनाएको छ । रुटन्बियर्गले उक्त दरबारको निर्माण कार्य ‘केही वर्षमा सकिने’ र त्यसपछि अपार्टमेन्टसहितको होटल बन्ने ठानिएको बताएका छन् ।
रुसभरि मुख्य विपक्षी नेतालाई थुनामा राखिएको विरोधमा आन्दोलन चर्किएको बेला रुटन्बियर्गले विवादित सम्पत्ति आफ्नो भएको दाबी गरेका हुन् । जेलमा रहेका क्रेम्लिनका विपक्षी नेता एलेक्सी नभाल्नीको टोलीले ज्यानुअरी महिनाको सुरुमा दरबारबारे बनेको वृत्तचित्र प्रकाशित गरेपछि उक्त सम्पत्तिबारे विवाद चर्चाको विषय बन्दै आएको छ ।
उक्त टोलीको खोजमूलक भिडिओमा उक्त दरबार बनेको सम्पत्ति एक अर्ब पाउन्ड बराबरको रहेको र त्यसका लागि ‘इतिहासको सबैभन्दा ठूलो घुस’ दिइएको आरोप लगाइएको छ ।
बीबीसीका टिम ह्यूलले सन् २०१२ मा उक्त रहस्यमय दरबारबारे समाचार गरेका थिए। त्यतिबेला उनले पुटिनका तत्कालीन व्यापारसम्बन्धी सहयोगीलाई उद्धृत गरेका थिए । (बिबिसी नेपालीबाट)

प्रतिक्रिया