जब सेनाका हतियारजडित बख्तरबन्द गाडी सडकमा निस्किए…
अखबार टुडे
प्रकाशित:
२०७७, २० माघ

काठमाडौं, २० माघ । नेपाली सेनाले १९ माघकै अवसर पारेर हतियार जडित बख्तरबन्द गाडीले चक्रपथ परिक्रमा गरेका छन् । सोमबार राति १० बजेपछि सेनाका एक दर्जन बख्तरबन्द गाडीहरू एकसाथ सडकमा निस्केका थिए । यसरी १९ माघको अवसर संयोग मात्र पनि हुनसक्छ । सेनाले यसलाई नियमित अभ्यास भनेको छ ।
सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेल सैन्य अभ्यासअन्तर्गत पहिले नै निर्धारित गतिविधि भएको बताएका छन् । पौडेलले आइतबार एक ट्वीट गर्दै नेपाली सेनाको नियमित अभ्यास योजनाअनुसार बख्तरबन्द गाडी एकसाथ सडकमा निस्कन लागेको जानकारी गराएका थिए ।

बख्तरबन्द गाडीहरू राति दश बजेपछि सितापाइलस्थित ब्यारेकबाट एकसाथ निस्केर चक्रपथको चक्कर लगाएका थिए । सार्वजनिक सवारीमा अवरोध नहोस् भनेर सेनाले राति अभ्यास गरिएको सेनाको भनाइछ । तर, एक दशक यता यसरी सेनाले चक्रपथ परिक्रमा गरेको थाहा नभएको जानकारहरु बताउँछन् ।


यस्तै, बुधबार पनि सेनाले ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको जनाएको छ । बुधबार अर्थात २१ माघमा पनि बख्तरबन्द गाडीहरू सितापाइलाबाट बिहान सातादोबाटो कोटेश्वर हुँदै पाँचखाल जाने कार्यक्रम छ । ती राति फर्किने बताइएको छ ।

प्रतिक्रिया