प्रधानमन्त्री ओलीले फेरि बोलाए संवैधानिक बैठक
अखबार टुडे
प्रकाशित:
२०७७, २० माघ

काठमाडौं, २० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि संवैधानिक परिषद्को बैठक बोलाएका छन् । स्रोतका अनुसार बुधवार बिहान ९ बजे बालुवाटारमा संवैधानिक परिषद्को बैठक बस्दैछ ।
१८ माघमा परिषद्ले निर्वाचन आयोग, अख्तियार र मानवअधिकार आयोग लगायतका निकायमा गरेको विवादास्पद सिफारिस सभामुखले फिर्ता गरेका थिए । अध्यादेश ल्याएर ३० मंसिरमा परिषद्ले अख्तियारलगायत संवैधानिक निकायमा ४५ जनालाई नियुक्ति सिफारिस गरेको थियो ।
मंसिर ३० मा बिहानको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि प्रधानमन्त्रीले अध्यादेशमार्फत् कानुन संशोधन गरेर सो साँझ बैठक राखेका थिए । बैठकमा सभामुख र विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित थिए ।
प्रतिनिधिसभा विघटनपछि सरकार ‘कामचलाउ’ भएको छ । यसरी कामचलाउ सरकारका प्रधानमन्त्रीले बैठक बोलाउन नमिल्ने कानुनविद्हरुको तर्क छ । संवैधानिक परिषद् ऐन–०६६ को धारा (१) को उपधारा (३) लाई अध्यादेशमार्फत् अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा बैठककको लागि गणपुरक संख्या पुगेको मानिने गरी संशोधन गरिएको छ ।

प्रतिक्रिया