ओली नेकपाको साधारण सदस्यबाट समेत हटाइए !
अखबार टुडे
प्रकाशित:
२०७७, १९ माघ

काठमाडौं, १९ माघ । नेकपा प्रचण्ड–माधव समूहले केपी ओली शर्मालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाएको छ । सोमबार बसेको प्रचण्ड–माधव समूहको चौँथो केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । यस्तै महासचिव विष्णु पौडेललाई सो पदबाट हटाएको छ ।
बैठकमा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी र पौडेललाई महासचिवबाट हटाउने प्रस्ताव पेश गरेका थिए । उत्तः प्रस्ताव बैठकले पारित छ ।
यसअघि प्रचण्ड–नेपाल पक्षको पेरिसडाँडामा माघ ११ बसेको स्थायी कमिटी बैठकले पनि ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो । नेकपामा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
प्रचण्ड–माधव समूहले नेकपामा आफूहरुको आधिकारिता दावी गर्दै निर्वाचन आयोगमा जाने भएको छ । नेताहरुले माघ ५ मा तीन दिनको अल्टिमेटमसहित उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर बुझाएका थिए । तर, ओलीले स्पष्टीकरण नदिएपछि ११ गतेको बैठकले ओलीलाई पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको थियो । सोही निर्णय केन्द्रीय समितिबाट पनि अनुमोदन गराइएको हो ।
यसअघि केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएरको थियो । अहिले ओलीको ठाउँमा नेपाललाई अध्यक्ष बनाइएको छ । गत ५ पुसमा प्रतिनिधिसभा विघटन गर्ने निर्णय ओलीको निर्णयपछि नेकपा विभाजित भएको हो । अहिले नेकपा प्रचण्ड–माधव समूह सडकमा आन्दोलनरत छ भने प्रतिनिधिसभा विघटनको मुद्दामाथि सर्वोच्चमा बहस जारी छ ।

प्रतिक्रिया