म्यानमारमा पुनः सैनिक ‘कू’ ! आङ सान सुकीलगायत शीर्ष नेता सेनाको नियन्त्रणमा
अखबार टुडे
प्रकाशित:
२०७७, १९ माघ

याङ्गुन, १९ माघ (एजेन्सी) । यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)की नेतृ आङ सान सूकीलाई सैनिकले नियन्त्रण गरेको छ । सुकी पक्राउ परेको पार्टी प्रवक्ताले जानकारी दिएका छन् ।
जननिर्वाचित सरकार र सेनाबीच बढ्दो तनावका बीच सूकीलाई पक्राउ गरिएको हो । योसँगै म्यानमारमा पुनः अर्को सैन्य ‘कू’को आशंका गरिएको छ । गत नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले सरकार बनाउन आवश्यक सिट जितेको थियो । तर, सेनाले भने निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएको छ ।
बर्माका रुपमा पनि चिनिने म्यानमार सन् २०११ सम्म सैन्य शासन रहेको थियो । सूकीले लामो समय आफ्नै घरमा नजरबन्दमा बिताएकी थिइन् । सोमबारबाट पहिलोपटक नयाँ संसदको सत्र शुरु हुनुपर्ने थियो । तर, सेनाले त्यसलाई स्थगित गर्न माग गर्दै आएको थियो ।
बीबीसीका अनुसार राजधानी याङ्गुनलगायत देशका मुख्य सहरहरुमा सैनिकहरुको उपस्थिति बाक्लो रहेको छ । रोयटर्स न्यूज एजेन्सीसँग फोनबाट कुरा गर्दै एनएलडीका प्रवक्ता म्यो न्यून्टले सूकी र पार्टी अध्यक्ष विन मिन्टलगायत अन्य नेताहरुलाई बिहानै लगिएको जानकारी दिए । अहिले यहाँ टेलिफोन र विभिन्न क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको थियो ।

प्रतिक्रिया