ओली अब कम्युनिष्ट रहेनन् : सुरेन्द्र पाण्डे
अखबार टुडे
प्रकाशित:
२०७७, १८ माघ


काठमाडौं, १८ माघ । नेकपा प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओलीको कदमले देशको सार्वभौमिकतामाथि चुनौती थपिएको बताएका छन् ।
आइतबार माइतीघर मण्डलामा आयोजित प्रतिनिधिसभा विघटनविरुद्धको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डले भने, ‘ओलीको कदमले दक्षिणपन्थी खुशी भएका छन् । उनीहरू ओलीजस्ता राजनेता कोही छैनन् भन्दैछन् ।’ उनले ओलीले आफ्नो सभामा राजावादीहरुलाई भेला गर्ने लागेको समेत दावी गरे । नेता पाण्डेले भने, ‘मैले सुनेको हुँ, २३ गतेको कार्यक्रममा राजावादीहरू पनि उर्दी जारी गरेर सहभागी हुँदैछन् ।’ उनले २३ गते नै ओलीले हिन्दू राष्ट्र घोषणा गर्ने चर्चा सुनेको समेत बताए ।
ओलीले झ्यालको बाटो छाडी भीरको बाटो हिँडेर प्रतिनिधिसभा विघटन गरेको उनको टिप्पणी छ । उनले भने, ‘हिजोमात्रै ओलीले राममन्दिर बनाउने घोषणा गरे । ओली अब कम्युनिष्ट रहेनन् । केपी ओली पूजापाठतिर लागेका छन् ।’ प्रधानमन्त्री ओली पक्षले यही २३ माघमा काठमाडौंमा बृहत आमसभाको तयारी गर्दैछ ।

प्रतिक्रिया