ढुक्क हुनुसु्, चुुनाव तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री
अखबार टुडे
प्रकाशित:
२०७७, १७ माघ

चितवन, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै मितिमा निर्वाचन हुने बताएका छन् । शनिबार चितवनमा आफू निकट नेकपाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले निर्वाचनको तयारीमा लाग्नसमेत आग्रह गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘चुनाव तोकिएको मिति हुन्छ, एक दिन पनि सर्दैन । त्यसैले तपाइँहरु निर्धक्क चुनावको तयारीमा लाग्नुस् ।’ केही व्यक्तिले जनतालाई अलमल्याउन निर्वाचन धोषणा गरेको भनेर गलत प्रचार गरिएको भन्दै प्रधानमन्त्री ओलीले त्यस्तो भ्रममा नपर्नसमेत आग्रह गरे ।
प्रधानमन्त्री ओलीले अघिल्ला निर्वाचनहरुमा विदेशसँग नाभी जोडिएकालाई भोट दिएको भन्दै अब देशको पक्षमा काम गर्ने नेतालाई भोट दिन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले आफ्नो विरोध गर्दै हिँडेकोप्रति ब्यंग्य गर्दै भने, ‘तीन जना पूर्वप्रधानमन्त्रीहरु देशभर टुकुटुकु लौरो टेकेर हिँडिरहेका छन् । बुढेशकालमा अर्थहीन ढंगले उनीहरु हिँडिरहेका छन् ।’ उनले प्रचण्डहरुको उद्देश्य राम्रो भएको भए स्वागत गर्न मिल्ने बताउँदै भने, ‘तर, उहाँहरुको पार्टी ध्वस्त पार्ने र देश बर्बाद गर्ने मनसाय मात्र छ ।’ प्रधानन्त्री ओलीले आफू सहभागी कार्यक्रममा चितवनका विघटित प्रतिनिधिसभाका सांसद र भरतपुर महानगरपालिकाका मेयर समेत नआएको भन्दै कटाक्ष गरेका थिए । उनले मेयर रेणु दाहाल कार्यक्रममा नआएपछि भने, ‘उहाँ कतै पिकनिक खान गएको हुनसक्छ ।’

प्रतिक्रिया