असंवैधानिक कदम सच्याउन सभामुखले बैठक राख्न सक्छ : अध्यक्ष प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७७, १६ माघ

विराटनगर, १६ माघ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यकता परे संसद बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्न सकिने बताएका छन् । शुक्रबार प्रधानमन्त्रीको कदमविरुद्ध आयोजना गरिएको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो चेतावनी दिएका हुन् ।
अध्यक्ष प्रचण्डले भने, ‘संविधानले हामीलाई संसदको बैठक बस्ने अधिकार दिएको छ । केपी ओलीलाई विघटनको अधिकार दिएको छैन । त्यसकारण संविधानको अधिकार प्रयोग गरेर केपी ओलीले गरेको असंवैधानिक र अलोकतान्त्रिक कदम सच्याउनका लागि सभामुखले बैठकको आयोजना गर्ने, हामी उपस्थित भएर केपी ओलाई कारवाही गर्नेसम्म जान सकिन्छ ।’
प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्धको मुद्धा सर्वोच्चमा रहेको र सर्वोच्चले सहि फैसला गर्ने कुरामा विश्वास रहेको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘अहिले यो मुद्धा सर्वोच्चमा छ । त्यस कारण हामी धैर्यताकासाथ सर्वोच्चले संविधानको मर्म, लोकतन्त्रको मर्म र भावनाअनुसार निर्णय गर्छ भन्ने भरोसा गरेर बसेका छौँ ।’ उनले प्रतिनिधिसभा पुर्नस्थापना नभए त्यसको विकल्प नेपाली जनतासँग रहेको बताए ।

प्रतिक्रिया