‘दिगो शान्ति, सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नु नै शहीदप्रति सच्चा श्रद्धाञ्जली’
अखबार टुडे
प्रकाशित:
२०७७, १६ माघ

काठमाडौं, १६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदहरूले गरेका बलिदानको प्रतिफल भएको बताएकी छन् ।
शहीद दिवसका अवसरमा आज सन्देश दिँदै राष्ट्रपति भण्डारीले इतिहासका विभिन्न कालखण्डमा निरंकुश र तानाशाही शासन व्यवस्थाविरूद्धका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीरवीराङ्गनाप्रति सम्मान व्यक्त गरेकी छन् ।
दिगो शान्ति, सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुँदा नै शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने बताएकी हुन् । शहीद दिवसले हामीहरुलाई शहीदले गरेको सर्वोच्च त्यागको स्मरण गराउने राष्ट्रपति भण्डारीको भनाई छ ।
भण्डारीले भनेकी छन्, ‘शहीदहरूको बलिदानद्वारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुँदा नै शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने मैले विश्वास लिएको छु ।’
देशलाई द्रुत आर्थिक विकाससहितको समृद्ध राष्ट्र बनाउने शहीदको सपना साकार पार्ने काममा मन, वचन र कर्मले समर्पित हुन शहीद दिवसले सबैलाई हौसला दिने राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया