प्रचण्डलाई चितवनमा हामीले जिताएका हौँ : प्रधानमन्त्री
अखबार टुडे
प्रकाशित:
२०७७, १५ माघ

काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपालहरू बाहिरिएपछि बल्ल पार्टी एकताबद्ध भएको बताएका छन् । काठमाडौंमा बिहीबार पार्टीनिकट ट्रेड युनियन महासंघ ‘जिफन्ट’को राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले यस्तो दावी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘यो पार्टी इतिहासमा अहिलेजस्तो एकताबद्ध र अनुशासित कहिल्यै पनि थिएन ।’ उनले प्रचण्ड–माधवलाई कटाक्ष गर्दै भने, ‘बल्ल पिलो निचोरिएपछि आनन्द भएको छ ।’ उनले प्रचण्ड आफै अस्थिर भएकाले अब कतैबाट पनि चुनाव जित्न नसक्ने दाबी गरे । प्रधानमन्त्री ओलीले भने, ‘७४ मा पनि चुनाव हामीले नै जिताएको हो ।’
उनले केही तत्वहरुले मजदूरहरुलाई अल्मल्याएका समेत दावी गरे । प्रधानमन्त्री ओलीले भने, ‘झुठा आश्वसन बाँडेका छन् । त्यस्ता कुराहरुबाट मुक्त हुनुपर्छ र हामीले सही बाटोमा धारणा राख्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले आफ्नै सरकार ढाल्न, अस्थिरता मच्चाउन प्रचण्ड–माधवहरु लागेको आरोप लगाउँदै भने, ‘अब पार्टीमा विकृति विसंगति, स्वार्थी प्रवृति, नीजि र पारिवारिक काम गर्ने प्रवृत्तिहरु किनारा लाग्छन् । यो महान शुद्धीकरण हो ।’

प्रतिक्रिया