कास्कीमा कसरी बढेका मतदाता ?
अखबार टुडे
प्रकाशित:
२०७७, १५ माघ

कास्की, १५ माघ । सरकारले आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा गरेपछि कास्की जिल्लामा पनि निर्वाचनको तयारी शुरु गरिएको छ ।
प्रतिनिधिसभाका तीन र प्रदेशसभाका ६ निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचन कार्यालयले आसन्न निर्वाचनको तयारीस्वरुप मतदानस्थल सिफारिस, मतदाता नामावली अद्यावधिक दाबी विरोधका कार्यक्रम सञ्चालन तथा राजनीतिक दलसँग अन्तक्र्रियाका कार्यक्रम गरिएको कार्यालयका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले बताए ।
कास्कीमा विसं २०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दुई लाख ५५ हजार ४५४ मतदाता रहेकामा यसपटक नौ हजार ९४२ मतदाता बढेका छन् । मतदातामा पुरुष भन्दा महिलाको संख्या बढी छ । महिला एक लाख ४० हजार ७६१ र पुरुष एक लाख २४ हजार ३१ गरी दाबी विरोध अगाडि कूल मतदाता दुई लाख ६५ हजार ३९६ छन् ।
पाँच स्थानीय तह रहेको जिल्लामा पोखरा महानगरपालिकामा दाबी विरोध अघि एक लाख ९८ हजार ६६३, माछापुच्छ«ेमा १८ हजार ६५४, अन्नपूर्णमा १८ हजार ३४९, मादीमा १६ हजार ४८७ र रुपा गाउँपालिकामा १३ हजार २४३ मतदाता छन् ।
कार्यालयले निर्वाचन तयारीस्वरुप माघ १६, १७ र १८ गते जिल्लाका पाँचवटै स्थानीय तहको केन्द्रमा मतदाता नामावली उपर दाबी विरोधका कार्यक्रम सञ्चालन हुने जनाएको छ ।
मतदाता नामावलीमा त्रुटि सच्चाउने, दाबी विरोध गर्ने, दोहोरो नाम भएकालाई हटाउने र मृत्युभएकालाई मतदाता सूचीबाट हटाएर अद्यावधिक मतदाता नामावली तयार गरिने कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । अन्तिम मतदाता नामावली निर्वाचन आयोगले फागुन पहिलो साता प्रकाशित गर्नेछ ।
जिल्लामा यस पटक मतदानस्थल र केन्द्र थप गरिएको छैन । साविकको १५० मतदानस्थल र ३१७ मतदान केन्द्रलाई यथावत् राखी केही मतदानस्थलको स्थानमात्र सारिएको न्यौपानेले बताए । उनले भने, ‘विगतमा तोकिएका मतदानस्थल र केन्द्रलाई यथावत् राखिएको छ, संख्या थप्न सिफारिस भएको छैन । निर्वाचन आयोगले पछि मतदाता संख्या हेरेर मतदानस्थल र केन्द्र थपघट गर्न सक्दछ ।’
पोखरा महानगरपालिकामा ९८ मतदानस्थल र २३० मतदान केन्द्र छन् । यसैगरी मादीमा १७ मतदानस्थल र २५ मतदान केन्द्र, अन्नपूर्णमा १५ मतदानस्थलमा २३ केन्द्र, माछापुच्छ«्ेमा १२ मतदानस्थल र २३ केन्द्र र रुपा गाउँपालिकामा आठ मतदानस्थल तथा १६ मतदान केन्द्र तोकिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया