ताराप्रकाश-अन्नुको स्वरमा गीतकार रसाइँलीको ‘मनमा भाको तिमी’ (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७७, १३ माघ

काठमाडौं, १३ माघ । गीतकार नारायण रसाइँलीको शब्दमा ‘मनमा भाको तिमी’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । गीतमा चर्चित संगीतकार तथा गायक ताराप्रकाश लिम्बू र अन्नु चौधरीको स्वर छ । संगीत पनि ताराप्रकाशकै रहेको छ ।


पाश्र्वसंगीतका लागि चर्चित संगीतकार ताराप्रकाशले यस गीतमा फिल्मी फ्लेवर दिएका छन् । गीतकार रसाइँली त्यतिधेरै सुनिएको नाम होइन । तर, उनको शब्दरचना सरल छ । एक कुसल गीतकारको विशेषता भनेकै सरल र मिठास शब्द संयोजन हो । त्यो गीतकार रसाइँलीमा देखिएको छ । संगीतकारको चर्चा गरिरहनै पर्दैन किनकि, प्रेमभाव उनिएका गीतका लागि ताराप्रकाशको संगीत सिर्जना यसअघि दर्शक तथा श्रोताले सुनिसकेका छन् र हेरिसकेका छन् ।
संगीकार तथा गायक ताराप्रकाशले प्रायः ‘हाईस्केल’मा गीत सिर्जना गर्छन् । तर, यस गीतमा उनले आफ्नो विशेषतालाई ताँती राखेर सबैले गाउन सक्ने सरल लयम ढालेका छन् । सायद यो गीत गायिका अन्नु चौधरीकै लागि कम्पोज गरिएको हुनसक्छ । गीतको भावअनुसार अन्नुले पनि न्याय दिएकी छन् । पछिल्लो समय अन्नु चौधरी नेपाली सांगीतिक क्षेत्रमा चर्चा बटुल्दै आएकी गायिका हुन् ।
भुपेन्द्र तुम्बाहाम्फेले निर्देशन तथा छायाँकन गरेको यस गीतको भिडियोमा विनोद बस्नेत र निशम लिम्बूले अभिनय गरेका छन् । स्टारलाइट प्रोडक्शनको प्रस्तुती रहेको यस गीतको निर्माण तारा लोहनी रसाइँलीले गरेकी हुन् । यस भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया