नागरिक आन्दोलनमाथि दमन नगर्न सरकारलाई प्रचण्ड-माधव समूहको चेतावनी
अखबार टुडे
प्रकाशित:
२०७७, १३ माघ

काठमाडौं, १३ माघ । नेकपा प्रचण्ड–माधव समूहले नागरिक आनदोलनमा दमन गरेको भन्दै सरकारको विरोध गरेको छ । संविधान र लोकतन्त्रको रक्षाका लागि सचेत नागरिक आन्दोलनले गरेको प्रदर्शनमाथि दमन भएको भन्दै प्रचण्ड–माधव समूहले विरोध जनाएको हो ।
नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै नागरिक समाजले काठमाडौंमा गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले क्रुरतापूर्वक हमला गर्नु निन्दनीय र खेदजनक रहेको बताएका छन् । शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक अधिकारको सम्मान गर्न र आइन्दा त्यस्ता कार्यक्रममा दमन र हस्तक्षेप नगर्न सो समूहले सरकारलाई चेतावनी दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘संविधान, प्रतिनिधिसभा र लोकतन्त्रको रक्षाका लागि नागरिक समाजले देखाएको अग्रसरता र संघर्षशीलताको हामी स्वागत गर्दछौं र उहाँहरुको आन्दोलनप्रति एक्यबद्धता प्रकट गर्दछौँ ।’ सोमबार नागरिक आन्दोलनकर्मी माथि बालुवाटारमा प्रहरीले हस्तक्षेप गरेको थियो । सोक्रममा दुई दर्जनभन्दा बढी अधिकारकर्मी पक्राउ परेका थिए भने केही घाइते भएका थिए ।

प्रतिक्रिया