प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा
अखबार टुडे
प्रकाशित:
२०७७, १३ माघ

काठमाडौं, १३ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध आन्दोलनका थप कार्यक्रम गर्ने निर्णय गरेको हो ।
घोषित कार्यक्रमअनुसार कांग्रेसले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते जिल्लास्तरीय विरोध कार्यक्रमको प्रस्ताव गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार बैठकले उक्त प्रस्ताव तयार पारेको छ भने सोही प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो ।
यस्तै पदाधिकारी बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच छुट्टाछुट्टै छलफल समेत भएको थियो । कांग्रेसले यसअघि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीको गैरसंवैधानिक कदमविरुद्ध पुस १३ गते प्रतिनिधि निर्वाचन क्षेत्र, पुस २५ मा प्रदेश निर्वाचन क्षेत्र, माघ ३ गते पालिका स्तरीय र माघ ८ गते वडा स्तरीय विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया