दुई चारजना भस्मासुरले पार्टी छोडे भन्दैमा कम्युनिष्ट आन्दोलन कमजोर हुँदैन : प्रधानमन्त्री
अखबार टुडे
प्रकाशित:
२०७७, १२ माघ

काठमाडौं, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाबाट विभाजित भएको प्रचण्ड–माधव समूहलाई ‘कुलंगार र भष्मासुर’को संज्ञा दिएका छन् । सोमबार दाङको भालुवाङमा आयोजित आफू निकट कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘दुईचार जना ‘कुलंगार र भष्मासुर’हरूले पार्टी छोड्दैमा कम्युनिस्ट आन्दोलन कमजोर हुँदैन ।’ उनको व्यंग्य प्रचण्ड–माधव नेपाललगायतको समूहमाथि थियो ।
‘दुईचार जना मानिस पार्टीको बैठकमा नआएर बाहिर गएर, चौतारीमा बसेर म अध्यक्ष भएँ भनेर घोषणा गर्दै हिँडेका छन्’ नेकपाका अध्यक्ष समेत रहेका ओलीले भने, ‘त्यो पनि हिजो निर्वाचन आयोगले खत्तम पार्दियो ।’ उनले आफूलाई पार्टीबाटै हटाएको भनेर प्रचार गरेपनि उनीहरुले आफूलाई पृथ्वीमै नरहे हुन्थ्यो भनेर भनिरहेको बताए ।
उनले अगाडि थपे, ‘पार्टी फुटाउन चाहेका छन् । तर भ्रममा नपर्नुस् पार्टी फुट्दैन । दुईचार जना मानिस देश, जनताको भलो नगर्ने आत्मकेन्द्रीत कुलंगार र भस्मासुरहरुले पार्टी छोडे भन्दैमा आन्दोलन कमजोर हुनेवाला छैन ।’ उनले निर्वाचन नगर भनेर आयोगमा भन्न जाने त्यस्ता पनि लोकतन्त्रवादी नहुने बताए ।
अध्यक्ष चाहियो भनेर केटाकेटी जस्तो क्याङक्याङ गरेको र कामै नगर्न नदिएकाले संसद विघटन गर्नुपरेको उनको दावी थियो । प्रधानमन्त्री ओलीले भने, ‘अध्यक्ष चाहियो भनेर क्याङक्याङ गर्ने केटाकेटीजस्तो पार्टी फुटाएर विभिन्न किसिमका समीकरण बनाएर सरकार बनाएर स्थायीत्व दिन्छु भन्ने ?

प्रतिक्रिया