नागरिक आन्दोलनमाथि प्रहरी दमन : ‘अब तेस्रो जनआन्दोलन सुरू भयो’
अखबार टुडे
प्रकाशित:
२०७७, १२ माघ

काठमाडौं, १२ माघ । बृहत् नागरिक आन्दोलन–२०७७ ले प्रतिनिधिसभा विघटनविरूद्ध आयोजना गरेको मार्चपासको कार्यक्रम प्रहरीले दमन गरेको छ । लेखक, पत्रकार, कवि, विद्यार्थी प्राध्यापक, राजनीतिज्ञ र अधिकारवादी सहभागी मार्चमासमा प्रहरीले लाठीचार्जसँगै पानीको फोरा हानेर प्रदर्शनलाई तितरवितर गर्ने प्रयास गरेको थियो ।

कमलपोखरीबाट बालुवाटारतर्फ सोझिएको जुलुस बालुवाटार पुग्ने मुख्य बाटो भाटभटेनीछेउमै प्रहरीले रोकेको थियो । त्यहाँ ठूलो संख्यामा प्रहरी खटाइएका थिए । जुलुससँगै नागरिक अगुवाहरूले स्वेच्छिक गिरफ्तारी दिन खोजेका थिए । त्यसक्रममा उनीहरू प्रहरीको घेरानजिक पुगेका थिए । त्यसरी जानेहरूमाथि प्रहरीले लगालग लाठी बर्साउन थालेको थियो । प्राध्यापक, विद्यार्थी, लेखकहरूमाथि लाठी बर्साएसँगै प्रहरीले पानीको फोहोरा पनि फाल्यो । प्रहरीले मानव अधिकारकर्मी कृष्ण पहाडीलगायतलाई पनि पक्राउ गरेको थियो ।

यसैबीच पत्रकार तथा लेखक नारायण वाग्लेले भद्र अवज्ञा आन्दोलनमाथि प्रहरीले दमन गरेको बताउँदै अब तेस्रो जनआन्दोलन सुरु भएको बताका छन् । आन्दोलनमाथि प्रहरीले लाठीचार्ज र पानीका फोहरा हान्दा केही मानिस घाइते छन् । उनले सेतोपाटीसँग भनेका छन्, ‘हामी शान्तिपूर्ण तवरले धर्ना दिइरहेका थियौं । हामीले भद्र अवैज्ञा आन्दोलन लिड गरिराखेका थियौँ । हामीमाथि जुन बर्बर दमन भयो विना सूचना । हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ भनेर पहिल्यै प्रहरीलाई भनेको थिएँ । हाम्रो साथीहरूसँग ढुंगा पनि थिएन ।’ आफूहरूमाथि दमन भएको भन्दै वाग्लेले थपे, ‘जुन तरिकाले हामीमाथि दमन भयो, अब तेस्रो जनआन्दोलन सुरू भयो ।’

प्रतिक्रिया