प्रधानमन्त्री ओलीद्वारा राप्ती पुल उद्घाटन
अखबार टुडे
प्रकाशित:
२०७७, १२ माघ

लुम्बिनी, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको सोमबार उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओली सेनामा हेलिकप्टरबाट त्यहाँ पुगेका थिए । उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, मन्त्री, प्रदेशसभाका सदस्य र प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य तथा सुरक्षा निकायका उच्च अधिकारीले स्वागत गरेका थिए । प्रधानमन्त्री आइपुग्दा उनलाई सर्वसाधारणले समेत स्वागत गरेका छन् ।
पुल उद्घाटनपछि प्रधानमन्त्रीले आजै राप्ती गाउँपालिका–२ लालमटियामा आयोजित जनसभालाई सम्बोधन गर्दैछन् । प्रधानमन्त्री ओलीले राप्ती नदीमा निर्मित पुलको अवलोकनसमेत गरेका छन् । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी नेपालकै दोस्रो लामो पक्की पुल हो ।
पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण भएको पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । करीब रु एक अर्ब लागतको सो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो । पुल निर्माणबाट साविकको गोबरडिहा गाविस र साविकको सिसहनियाँ क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् ।

प्रतिक्रिया