अब अख्तियारमा धूलो परेका फाइल कोट्याएर निकालिन्छ : मन्त्री ज्ञवाली
अखबार टुडे
प्रकाशित:
२०७७, १० माघ

गुल्मी, १० माघ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अदालत र अख्तियारमा अब धूलो परेका फाइल सरकारले कोट्याएर निकाल्न थालेको बताएका छन् । उनको भनाइमा यसले पार्टीभित्र तरंग आएको छ ।
भ्रष्टाचारीको कुनै पार्टी, जात र रंग नहुने भएकाले कसैलाई पनि नछाडिने मन्त्री ज्ञवालीको भनाइ छ । उनले भने, ‘वर्षौँसम्म थन्क्याएर राखेका धूलो परेका फाइललाई निकालेर हेरिन्छ, भ्रष्टाचारी त्रसित भएका छन् ।’ शनिबार नेकपा ओली समूहका अगुवा कार्यकर्तालाई गुल्मीको तम्घासमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सुशासन कायम गर्न सरकार दृढ रुपले लागेको बताए ।
सरकारले तोकिएकै समयमा निर्वाचन गराउन गृहकार्य अगाडि बढाएकाले गाउँ–गाउँमा जनतालाई आफ्नो पक्षमा पारेर चुनावी अभियान सञ्चालन गर्न उनले कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘अबको विकल्प सडक होइन, निर्वाचन हो । हामी जनताको फैसला स्वीकार्न तयार छौँ, हारेर जंगल पस्दैनौँ ।’
नेकपाको कार्यकारी अध्यक्षजस्तो गरिमामय पदलाई दुरुपयोग गरेर पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको उनको आरोप छ । अध्यक्ष प्रचण्डले पार्टी काममा लाग्न छाडेर गुट बनाउँदै पार्टी एकताको म्यान्डेटविपरीत गतिविधि गरेर पार्टी विभाजन गरेको उनले आरोप लगाए ।
मन्त्री ज्ञवालीले पार्टीमा पदको बार्गेनिङ गरेर दाहालले प्रधानमन्त्री र माधव नेपालले पार्टी अध्यक्ष पद नपाएपछि छँदाछँदाको आफ्नो पार्टीको दुई तिहाइको सरकारलाई बदनाम गराउन सडक गएर रोइकराई गरेको दाबी गरे । ‘पार्टीभित्र आफ्नो शक्ति आर्जन गर्ने र कुर्सीकै लागि दाहालले राजनीति गरे’ उनले भने, ‘स्थिर सरकारको लागि जनतासमक्ष मागेको मतलाई कदर गर्ने काम पटक्कै भएन । कुर्सीका लागि पार्टीमा बबाल मच्चाउने काम दाहाल र नेपालले गरे ।’ उनले कब्जा गरेर देशलाई अस्थिरतातर्फ धकेल्न खोजेपछि संविधान र लोकतन्त्रको रक्षार्थ प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको दावी गरे ।

प्रतिक्रिया