आफन्तको रोकिएन आँशु, विमानस्थलमा छायो सन्नाटा
अखबार टुडे
प्रकाशित:
२०७७, १० माघ

काठमाडौं, १० माघ । वैदेशिक रोजगारीको सिलसिलामा मलेशिया पुगेका १८ नेपालीको शव शनिबार काठमाडौ ल्याइएको छ । विभिन्न समयमा विविध कारणले ज्यान गुमाएका उनीहरुको शव शनिबार नेपाल वायुसेवा निगमको जहाजले एक शवको अस्तुसहित १९ वटा शव नेपाल ल्याइएको हो ।
नेपाल वायुसेवा निगमको वाइड बडी ए३३० जहाजले शनिबार अपराह्न काठमाडौँ १८ शव लिएर अवतरण गरेपछि केही समय सन्नाटा छाएको थियो । लस्करै नेपालीको शव विदेशबाट ल्याएको देखिएपछि विमानस्थलमा उपस्थित आफन्त मात्र नभएर कर्मचारीसमेत स्तब्ध भएका थिए ।
धन कमाउने मिठो सपना र अभिलाषा बोकेर पाखोबारी बन्धकी राखेर विदेसिएका नेपालीको शव बाकसमा फर्किएको दृश्यले जोकोहीको आँशु रसाउने दृश्यले विमानस्थलमा सन्नाटा सँगै स्तब्ध बनाइएको थियो ।


शव लिन निगमको जहाज शुक्रबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेशियाको क्वालालम्पुर उडेको थियो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले नेपालीको शव ल्याएको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा काम गर्न गएका नेपाली विभिन्न कारणले मृत्यु भएर त्यहाँ अलपत्र अवस्थामा थिए । मृतकका परिवारको पीडालाई बुझेर निगमले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव ल्याएको निगमले उल्लेख गरेको छ ।
निगमले क्वालालम्पुर गन्तव्यमा न्यारोबडी जहाजले नियमित उडान गर्दै आएको छ । नेपाली कामदारको शव लिनकै लागि निगमले पहिलोपटक वाइडबडी जहाज प्रयोग गरेको हो । वाइडबडी जहाजमा १८ वटा शव बोक्ने क्षमता हुन्छ ।
मलेशियास्थित नेपाली दूतावासँगको समन्वयमा निगमले नेपालीको शव ल्याएको हो । नेपाली दूतावासलाई उद्धृत गर्दै निगमले जनाएअनुसार अझै त्यहाँ ३७ वटा शव रहेको छ । ती शव समयभित्रै नेपाल ल्याउन निगमले आवश्यक तयारी भइरहेको जनाएको छ ।

प्रतिक्रिया