आगामी निर्वाचन निष्पक्ष र धाँधलीरहित हुन्छ : प्रधानमन्त्री ओली
अखबार टुडे
प्रकाशित:
२०७७, ९ माघ

काठमाडौं, ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुने सम्पन्न हुने दावी गरेका छन् । सशस्त्र प्रहरी बलको २०औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अगामी वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न उनले बताएका हुन् ।
‘मुलुक निर्वाचनको तयारीमा लागेको छ । सुरक्षा निकायले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बेला आएको छ’ उनले भने । प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश दुईसहित गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा र दोस्रो चरणमा प्रदेश नं १ सहित वाग्मती र कर्णाली प्रदेशमा निर्वाचन हुने जानकारी दिए । ‘यसको औपचारिक निष्कर्ष निस्किसकेको छैन’ प्रधानमन्त्री ओलीले भने, ‘कसो गर्दा उचित हुन्छ, त्यहीअनुसार अघि बढ्नुपर्ला भन्ने सोचेको छु ।’
सुरक्षा निकायलाई निष्पक्ष र विधिसम्मत तरिकाले अघि बढ्नसमेत उनले निर्देशन दिए । अहिलेका अवस्थामा केही तत्वबाट विभन्न घटना घटाउने चेष्टा हुन सक्नेतर्फ ध्यानाकर्षण गराउँदै घटना घट्नुअघि नै नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशन दिए । प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई सहजरुपमा अघि बढ्न नदिने चेष्टाका झलक देखिएको बताए। उनले कुनै पनि अवाञ्छित गतिविधि गर्ने तत्वप्रति सजक रहँदै यसको सामनाका लागि तयार रहन पनि आग्रह गरे ।

प्रतिक्रिया