नेकपा प्रचण्ड-माधव समूहले आज शक्ति प्रदर्शन, राजधानीको सवारी आवागमन अस्तव्यस्त
अखबार टुडे
प्रकाशित:
२०७७, ९ माघ

काठमाडौं, ९ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज राजधानीमा शक्ति प्रदर्शन गर्दैछ । नेकपाले आज एक लाख मानिस सडकमा उतार्ने दावी गरेको छ ।
प्रचण्ड–माधव समूहले शुक्रबार बिहान ११ बजे काठमाडौं र ललितपुरका बिभिन्न ९ स्थानबाट जुलुस निकाल्दै छ । त्यसका लागि पौने ११ बजे नै आ–आफ्नो क्षेत्रमा जम्मा भइसक्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिइएको छ ।

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निस्किने छन् । माइतीघरको जुलुशमा नेताहरु गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, पेशल खतिवडा लगायतका नेताहरु रहने छन् । डिल्लीबजार चारखालको जुलुसको नेतृत्व वर्षमान पुन र वेदुराम भुसालले गर्ने छन् ।
लैनचौरको जुलुसको नेतृत्व भीम रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईंलगायतका नेताहरुले गर्नेछन् । त्रिपुरेश्वरको जुलसमा नेताहरु देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे तथा कुपण्डोलको जुलुसमा कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नन्दकुमार थापालगायतका नेताहरु रहने संघर्ष समितिले जनाएको छ ।
प्रदर्शनी मार्गको जुलुसमा घनश्याम भुसाल र जनार्दन शर्मा रहने छन् भने शान्तिवाटीकाबाट सुरु हुने मजदुरको जुलुसमा नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई रहने छन् । देव गुरुङ, हितमान शाक्य, रामकुमारी झाँक्री र लेखनाथ न्यौपानेले त्रिचन्द्र कलेज अगाडिबाट निस्किने जुलुसको नेतृत्व गर्ने छन् । वाल्मीकि क्याम्पसको जुलुसमा अमृत बोहोरा, मुकुन्द न्यौपाने, विष्णुपुकार श्रेष्ठ रहने छन् ।

बिभिन्न स्थानबाट निस्किने जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत हुनेछ । सो मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ ले जानकारी दिए ।

यस्तै, विहानैदेखि सडकमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने प्रदर्शनीमार्ग, रत्नपार्क, सहिद गेटको सडकमा आवागमन बन्द गरिएको छ, जसका कारण सवारी अस्तव्यस्त बनेको छ । नेकपाले जनप्रदर्शन शान्तिपूर्ण हुने जनाएको छ । बिहीबार साँझ विज्ञप्ति जारी गर्दै प्रदर्शन शान्तिपूर्ण हुने जनाएको हो ।

प्रतिक्रिया